सूर्य वि.क.
वीरगञ्ज, २९ चैत। झमक्क साँझ पर्ने बित्तिकै बन्द हुने वीरगञ्ज ३१ बेलवाका बृजकिशोर महतोको पसल अचेल राति १० बजेसम्म पनि खुलै हुन्छ। पसल खुल्ने समय अवधि बढेसँगै उनको व्यापार पनि बढ्दा बृजकिशोर मक्ख छन्। दिनमा मुस्किलले एकदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने उनको पसलमा अचेल २ हजारदेखि ५ हजारसम्मको व्यापार हुन्छ।
व्यापार बढ्नुको श्रेय उनले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई दिन्छन्। ‘पहिला अँध्यारो हुन्थ्यो, बत्ती थिएन्, साँझ पर्ने बित्तिकै पसल पनि बन्द गर्थे । तर अचेल पसलकै अगाडी बत्ती छ । झलमल्ल बत्ती बल्दा राती ९/१० बजेसम्म पनि पसल खुलै हुन्छ’, बृजकिशोर थप्छन्, ‘दिनभरीको कामले थाकेका ग्राहकहरु राति अबेरसम्म बसेर किनमेल गर्नुका साथै गफ गरेर सुखदुख साटासाट गर्छन्।’
सँधै ८ बजेसम्म सुतीसक्ने बेलवाकै मुनीलाल प्रसाद यादव राती साढे ९ बजेसम्म पनि साथि र आफन्तसँग गफिँदै थिए । नजिकै बलेको बत्तीको प्रकाशले उनीहरुलाई अबेर भएको आभाष भएको थिएन । त्यही ठाउँ उनीहरुको सँधैको जमघट गर्ने थलो बनेको छ।
बत्तीले विवाह, बर्तबन्ध लगायतका धार्मिक एवम् सामाजिक कार्यलाई सहज बनाइदिएको मुनीलाल बताउँछन् । उनले भने, ‘पहिलेका मुखिया जीले आफ्नै गाउँ मिलनचौक, भेडियाहीमा बत्ती लगाउनुभएको थियो । हाम्रो गाउँ अन्धकार थियो । अहिले पुरै गाउँ नै झिलीमिली छ।’
रातीको आवतजावत बत्तीले सहज बनाइदिएको बेलवाकै किशोरी साह बताउँछन् । उनी भन्छन्, ‘राति कतै हिँडडुल गर्न परेपनि अप्ठ्यारो हुने गरेको थियो । अहिले एकदम सुविधा छ, जताततै सहजै आवतजावत गर्न सकिन्छ, कतै बिग्रियो भने पनि मुखियालाई खबर गर्दा तुरुन्तै बनीहाल्छ।’
‘वडा नम्बर ३१ सबैभन्दा धेरै टोल भएको वडा हो’ वडाअध्यक्ष जितेन्द्र प्रसाद यादवले भने, ‘अब कर्मा टोलामा मात्रै बत्ती लगाउने काम गर्न बाँकी छ । त्यो पनि छिटै हुन्छ ।’ महानगरभएसँगै पछि थपिएको ग्रामिण वडा भएपनि अहिले बत्ती बलेसँगै यहाँका जनताले महानगरबासीजस्तै आभास गरिरहेको वडाअध्यक्ष यादवको दावी छ।
वीरगञ्ज ३० लालपर्सा निवासी बिन्दालाल साह पनि व्यवसायी हुन् । चोकमा बत्तीको प्रकाश चम्किएसँगै उनको व्यापार पनि चम्किएको छ । वीरगञ्ज महानगरको उज्यालो अभियान कार्यक्रमकै कारण गाउँ नै उज्यालो भएको बिन्दालाल बताउँछन् । उनी भन्छन्, ‘पहिला अँध्यारो हुने बित्तिकै पसल बन्द गर्नुपथ्र्याे, गाउँ पनि शुनशान हुन्थ्यो । तर अचेल राती पनि दिउँसो जस्तै लाग्छ । अबेरसम्म चहलपहल हुन्छ।’
आफ्नो गाउँ झिलीमिली अनि उज्यालो होस् भन्ने सानैदेखिको चाहना वीरगञ्ज ३० का वडाअध्यक्ष मनोज यादवले आफ्नै कार्यकालमा पूरा गरे । मनोज स्मरण गर्छन्, ‘म सानै हुँदा नै गाउँ उज्यालो होस्, जताततै बत्ती होस् भन्ने चाहाना थियो । तर मै वडाअध्यक्षमा जितेर मेरै नेतृत्वमा यो काम हुन्छ भन्ने सोचेको थिएन ।’
वडा नम्बर ३० का हरेक गल्लीदेखि कुनाकुनासम्म पनि बत्तीको व्यवस्था भएको वडाअध्यक्ष यादवले दावी गरे । उनले भने, ‘वीरगञ्ज महानगरले सञ्चालन गरिरहेको उज्यालो वीरगञ्ज अभियानले हाम्रो वडा अन्धकारबाट मुक्त भएको छ । एउटा मात्रै घर भएपनि हामी बत्तीको व्यवस्था गरेका छौँ ।’ वीरगञ्ज महानगरले सञ्चालन गरेको उज्यालो वीरगञ्ज अभियानको सह्राना गर्दै उनले विभिन्न उद्योग एवम् कम्पनीहरुमा काम गरेर रातीराती ओहोरदोहोर गर्नेलाई बत्तीले सहज बनाइदिएको बताए । अँध्यारोमा राती हिँड्न डराउनेहरु अचेत उज्यालोमा निसंकोच हिँडडुल गरिरहेको यादवको भनाई छ । उनकाअनुसार अहिले गाउँमा चोरी डकैतीका घटना पनि कम भएका छन् । हरेक ठाउँमा बत्ती भएपछि चोरी नहुने उनको विश्वास छ।
वीरगञ्ज महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेको छ । ‘केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो’, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मीनाबजारका विजय साहले भने, ‘तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।’ महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले बस्ती नै उज्यालो बनाएको साहको भनाइ छ ।
विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको वीरगञ्जको अशोकबाटीका निवासी शशीकान्त सर्राफ बताउँछन् । ‘अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटना पनि भएको सुनिएको छैन, पक्कै पनि यो उज्यालो वीरगञ्ज अभियानकै प्रभावकारितास्वरुप हो’, सर्राफले भने।
वीरगञ्ज १३ राधेमाईकी रितिका सिंह मिर्मिरे बिहानीमै कलेज जाँदा आफ्ना दाई वा बुबालाई छोड्न लगाउँथीन् । अँध्यारोका कारण मनमा डरैडर लिएर हिँड्ने उनी अचेल बत्तीले उज्यालो भएपछि निर्धक्क भएर एक्लै जान्छिन् । उज्यालो वीरगञ्ज अभियानका कारण उनी जस्तै बिहानै कार्यालय अथवा कलेज जाने महिलाहरुको डर पनि हटेको छ।
गत आर्थिक वर्ष २०७९÷८० देखि उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिका विद्युत् शाखाका प्रमुख इञ्जीनियर राजीवकुमार उपाध्यायले बताए । इञ्जीनियर उपाध्यायकाअनुसार महानगरका ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको छ।
स्ट्रिटलाइटसँगै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्ती पनि जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडान गरिएको महानगर विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिए।
अँध्यारोबाट मुक्त बनाएर राती पनि वीरगञ्ज महानगरलाई भिलिमिली बनाउने महानगरप्रमुख राजेशमान सिंहको योजना छ। दिउँसो जस्तै निर्धक्कसँग मानिसहरु आवतजावत र किनमेल गर्न सकुन भन्ने सपनालाई सार्थकता दिन महानगरले रात्री बजारको अवधारणा अघि सारेको सिंहको भनाई छ । उनले भने, ‘देशकै प्रमुख आर्थिक राजधानी भनिन्छ, व्यापारिक हब पनि भनिन्छ, तर नौ नबज्दै व्यापार व्यवसाय बन्द हुन्छन् । अब हामीले रात्री बजारको अवधारणा ल्याएका छौँ ।’ रात्री बजारले दिउँसो व्यस्त हुनेहरुलाई रात्री किनमेल र घुमघाम गर्न सहज हुनुका साथै कोभिड १९ ले थला परेको व्यापार व्यवसाय सुदृढ हुँदै जाने उनको विश्वास छ । उज्यालो भएपछि अरु कुरा स्वतः हुँदै जाने सिंहले बताए।