सिरहा, २९ चैत। गएराती भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा परिच चार जना भारतीय सहित १० जनाको मृत्यु भएको छ। बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिक र जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा जिप दुर्घटना हुँदा बझाङको एकै गाउँका छ जनाको मृत्यु भएको हो।
सिन्धुलि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पताल ल्याईएको छ भने बाँकी तीन शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।
राजमार्ग भिरालो भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकस भईरहेको बताइएको छ। शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए। कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।
त्यसैगरी, बैतडीमा जिप दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्।
झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से. १ ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन्। बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो। जिप चालक फरार छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।