वीरगञ्ज, २५ चैत। रामजानकी मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएका पक्की संरचनामा वीरगञ्ज महानगरले डोजर चलाएको छ। वीरगञ्जस्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरको जग्गालाई अतिक्रमण गरि निर्माण गरिएका पक्की संरचना महानगरले शनिवार डोजर चलाएर भत्काएको हो।
आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगञ्जमा दिएको रिट अस्वीकार भएसँगै महानगरले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरिएका संरचना हटाएको हो।
गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो।
तीन दशक भन्दा लामो समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए।
महानरपालिकाका प्रमुख राजेशमान सिंहले मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान नै चलाएर अहिले अतिक्रमण हटाउँदै आएका छन्। अतिक्रमण हटाउन महानगर प्रमुख सिंह आफैं डोजरसहित पुगेका थिए।
वि.सं.१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको यो जग्गामा कथित पुजारी तिवारीले ३० वर्षभन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडामा लगाएका थिए।
अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने महानगर प्रमुख सिंहले बताए।
वर्षौंदेखिको अतिक्रमण हटेसँगै स्थानीय खुशी भएर महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै लड्डु बाँडेका थिए।
अतिक्रमण हटाउन महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा न १० का वडा अध्यक्ष सुशील कुमार कानु, नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँ समेतको टोली अतिक्रमित स्थानमा पुगेको थियो।