सिरहा, २३ चैत। सिरहाको लहान नगरपालिका २४ मा वस्ती नजीकै वनमा लागेको डढेलो चार वडा दमकलको सहयोगमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिएको छ। लहान नपा २४ रनहा सिमरटोकीस्थित बस्ति नजिकै चुरेक्षेत्रको चिउलडिही सामुदायिक वनमा बुधबार परान्ह लागेको डढोलो लहानबाट गएको प्रहरी, वन कर्मचारी र गाउँलेको प्रयासमा करिव ४ घण्टा लगाएर नियन्त्रणमा लिएको हो। aaglagi3

वनमा साधुजस्तो भेसमा रहेका, सन्तुलन गुमाएका जस्तो व्यवहार गर्ने वेक्तिले वनभित्र पसेर आगो लगाएको स्थानीयलाई उद्धरित गर्दै सवडिभिजन वन कार्यालय लहानका प्रमुख वन अधिकृत देवेन्द्र पासनवानले जानकारी दिए। आगलागीका कारण हजारौं नयाँ विरुवाहरु डढेको पनि उनले सुनाए।

जोडले चलेका हावा कारण केहिवेरमै वनभरी आगो फैलिएपछि सिरहाको लहान, गोलबजार, सिरहा नगरपालिका, सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएको दमकल, वन कार्यालयको आफ्नै पानी ट्याँकीको प्रयोग गरी आगो नियन्त्रणमा लिएको वन अधिकृत पासवानले बताए।

उनले भने, ‘आगो लागेको केहीवेरमै ३६ हेक्टर क्षेत्रमा फैलिको वन मध्येय करिव तीन तीहई (२६ हेक्टर) मा फैलिएको सवैको प्रयासमा नियन्त्रणमा लिन सफल भयौं, ठूलो दुर्घटनाबाट जोगियौं।’ वनमा आगो फैलिन थालेपछि त्रासमा रहेका गाउँलेहरुले घरमा रहेको अन्न पात, तत्ता कपडा, आवश्यक कागजपत्र सुरक्षित ठाउँमा सार्न थालि सकेका थिए।

आगलागीका कारण वरपर रहेका गाउँहरु सिमरटोकी, मानिकदह, झीट्की, खपटेडाँडा लगाएतका गाउँहरु उच्च जोखिम रहेका थिए। सवैको प्रयासमा समयमै आगलागी नियन्त्रणमा आएकाले ठूलो दुर्घटना टरेको स्थानीयको भनाई रहेको छ।

वडा अध्यक्ष राशलाल रायले आफू काम विशेष जिल्ला सदरमुकाममा रहेको वेला स्थानीयले फोन गरेर जानकारी गराएपनि तत्काल सिरहा, लहान, गोलबजार नगरपालीका र सप्तरीको सम्भुनाथ नगरपालिकाको बारुण यन्त्र पठाएको बताए। उनले भने, ‘म जिल्लामै भएकाले तत्कालै प्रमुख जिल्ला अधिकारीसँग पनि सहयोग लिएर दमकल र प्रहरी पठाउन सहयोग मिल्यो र ठूलो छतिहुनबाट जोगियौं।’

आगो नियन्त्रणमा जनपथ, सशस्त्र प्रहरी, स्थानीय र वन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष रायले बताए।
वनमा आगो लगाएको भनिने स्थानीयले दिएका हुलियाको साधुको वन कार्यालयले खोजी गरिरहेको जनाए। पछिल्ला दिनहरुमा सिरहाका चुरेक्षेत्रका वन फडानी र जथाभावी आगोजन्य वस्तुको प्रयोगले डढेलो बढेको छ।