कुन पुस्ते शिक्षण गर्ने ?
हामी दुईपुस्ते शिक्षण प्रणालीमा अभ्यस्त छौं । रोमन अक्षरको यू प्रणाली । किसानी शब्दावलीमा फाली अड्याउने करुवा प्रणाली । शिक्षक एउटा पुस्ता । विद्यार्थी अर्को पुस्ता । पश्चिमी दुनियाँले करुवा प्रणालीमा खोट देख्यो । सन् २००७ मा अमेरिकाको बोस्टन सहरका केही स्कुलका विद्यार्थीले करुवा प्रणाली तोडे । त्यस क्रममा तिनीहरू समुदायमा गए । बहुपुस्तासँग भेटघाट गरे ।
भेटघाटका लागि तिनले केन्द्र (आउट रिच सेन्टर) बनाएका थिए । त्यहाँ विद्यार्थीले बहुपुस्तासँग अन्तर्वार्ता लिए । एउटै प्रश्नमा बहुपुस्ताको उत्तर खोजे । यसबाट धेरै सिकाइ भयो । फलत : तिनले विद्यार्थी तथा बहुपुस्ताबीच सहसिकाइको योजना बनाए । सहकार्य गर्ने योजना ।
करुवा शिक्षण बदल्न बहुपुस्ते शिक्षण चाहिन्छ । यसको उद्देश्य के हुने ? भेटघाटका विषयवस्तु के हुने ? विद्यार्थीले आर्जन गरेका ज्ञान तथा सीपलाई मौजुदा पाठ्यक्रमसँग कसरी जोड्ने ? शिक्षण विधि के हुने ? मूल्यांकन कसरी गर्ने ? परिणाम के हुने ? यी र यस्ता प्रश्नमा आधारित भएर क्यानडा, अस्ट्रेलिया, स्पेन, पोल्यान्ड, टर्कीमा पनि अध्ययनहरू गरिए । ती अध्ययनहरूको नतिजा सुखद देखियो । परिणामत : स्पेन, उत्तरी आयरल्यान्ड तथा पोर्चुगलले बहुपुस्ते शिक्षण सुरु गरे । उरुग्वेले घरघरमा कथा सुने–सुनाएको कुराबाट कक्षाकोठाको पाठमा जोड्ने तरिका अपनायो । स्लोभानियाले परियोजनाका रूपमा बहुपुस्ते शिक्षण विधिको अभ्यास गर्यो ।
विषयवस्तु के राखे ?
निभ्स लिसेनले सन् २०२१ मा गरेको अध्ययनले भन्छ— मानिस तथा वातावरणको सहसम्बन्धको कुरा सिकाउन बहुपुस्ते सिकाइ उपयोगी हुन्छ (ओपेन जर्नल अफ एजुकेसनल रिसर्च सन् २०२१, ५.१) । परियोजना दिएर तथा अनुसन्धान गराएर औपचारिक कक्षाका लागि । कुरा बुझ भनी पठाए अनौपचारिक कक्षाका लागि । सोही अध्ययनले दिगो विकासका विषयवस्तु सिकाउन पनि यो विधि उपयोगी भएको पहिल्याएको छ । यसका लागि कथन प्रणाली (न्यारेटिभ मेथड) को उपयोग गरेको छ । प्राप्त नतिजाले भन्छ– यसबाट कृषिको दिगो विकास सम्भव भयो । पर्यावरणको दिगो विकासका कुरा जानियो । समाजमा भएका परिवर्तन जान्नका लागि पनि यो शिक्षण विधि उपयोगी सावित भयो । महिलालाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन बुझ्न । खानपानमा आएको फेरबदल जान्न । रहरसहनमा आएको परिवर्तन बुझ्न । संस्कृतिमा आएको निरन्तरता, अतिक्रमण तथा संक्रमण जान्न । समावेशिताको स्थिति बुझ्न ।
कुन क्षेत्रमा कसरी रूपान्तरण भइरहेछ भन्ने कुरा जान्न पनि बहुपुस्ते शिक्षण प्रणाली उपयोगी भएको कुरा सोही अध्ययनले देखाएको छ । कृषिको रूपान्तरण । खानपानको रूपान्तरण । चाडबाडको रूपान्तरण । बजारीकरणको रूपान्तरण । उपभोक्तावादको रूपान्तरण । यसरी विविध क्षेत्रको रूपान्तरणका विषयवस्तु सिक्न तथा सिकाउन यो शिक्षण विधि लागू गरिएको देखिन्छ ।
उपयोगिता के छ ?
विभिन्न देशहरूमा गरिएका अध्ययनहरूले भन्छन्— बहुपुस्ते शिक्षणले विद्यार्थीलाई सर्जक बनाउँछ । बालविकास शिक्षा, विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा, समुदाय तथा तेस्रो उमेरको विश्वविद्यालय (थर्ड एज युनिभर्सिटी) लाई एकसाथ जोड्छ । तेस्रो उमेरको विश्वविद्यालयमा विश्वभरका सेवा निवृत्तहरूले सिक्ने सिकाउने गर्छन् । हिजो आमनेसामनेको सिकाइ थियो यो । अहिले अनलाइन शिक्षण सिकाइमा गएको छ । नेपालमा पनि यसका अभ्यासीहरू छन् । बहुपुस्ते शिक्षाको यही उपयोगिता बुझेर अस्ट्रेलियाले स्याहारसुसार गृह (केयर होम) देखि विश्वविद्यालयसम्म जोड्न नातिनातिना साथी (ग्रायन्ड फ्रेन्ड्स कार्यक्रम) सञ्चालन गरेको छ । क्यानडा, जापान, अस्ट्रेलिया, स्पेन, दक्षिण अफ्रिकाको अध्ययनले भन्छ– यो शिक्षण विधि अपनाउँदा सबै पुस्ताले एकसाथ सिक्छन्, सिकाउँछन् । पुरानो पुस्तालाई हामी बुढिएका रहेनछौं भन्ने सन्देश जान्छ । युवा तथा बालबालिकालाई हामी पनि सिकाउन सक्ने रहेछौं भन्ने विश्वास बढ्छ । उनीहरूको शब्दावलीमा नातिनातिनी पुस्ता तथा हजुरबा–हजुरआमा पुस्ताको सहज सम्बन्ध बन्छ । अर्थात् दुवै थरी सिक्ने सिकाउने साथी बन्छन् । यो कुरालाई रुटलेजले सन् २०१७ मा निकालेको ‘जर्नल अफ इन्टरजेनरेसनल रिलेसनसिप’ मा प्रकाशित लेखले पनि पुष्टि गरेको छ ।
छिमेकी देश के भन्छन् ?
युज्जा हुवो तथा जाने गोल्ले (चाइना इकोनोमिक रिभ्यु अंक ७१, फेब्रुअरी २०२२) ले चीनमा बहुपुस्ते शिक्षण अभ्यासको विश्लेषण गरे । उनीहरूको अध्ययनले भन्छ– यो विधिले पुस्तैपिच्छेका महिलाहरूको बदलिँदो अनुभव सिकाउँछ । तत्कालीन महिला तथा पुरुषहरूको सम्बन्ध बुझ्न सक्षम बनाउँछ । हजुरबा तथा हजुरआमा र नातिनातिनी दुवैले सिक्न–सिकाउन पाउँछन् । नातिनातिना पुस्तालाई यो शिक्षण तरिकाले झनै फाइदा पुग्छ । यही उपलब्धिका आधारमा चीनले बहुपुस्ते शिक्षण तरिका अपनाएको छ । उसको अनुभवअनुसार दुईपुस्ते अर्थात् बाबुआमाले छोराछोरीलाई सिकाउने करुवा शिक्षण प्रणालीभन्दा तीन पुस्ताले एकैसाथ पढ्ने पढाउने शिक्षण प्रणाली बढी उपयोगी हुन्छ (लि. एम तथा केओ जे, सन् २०२२ को स्कुप्स प्रिभ्यु, मल्टिजेनरेसनल मोबिलिटी इन चाइना इन दि ट्वान्टीफस्ट सेन्चुरी) । त्यसैगरी बहुपुस्ते शिक्षण प्रणालीले आमाबाबुको शिक्षालाई पनि सघाउँछ (रिभ्यु अफ डेभलपमेन्ट इकोनोमिक्स अंक २३.१, सन् २०१९) । यो शिक्षण विधिले गाउँ तथा सहरको दूरी घटाउँछ (चाइना एन्ड दि वर्ल्ड इकोनोमी, अंक २१.२, सन् २०१३) ।
भारत तथा इन्डोनेसियामा गरेको अध्ययनले देखाउँछ कि बहुपुस्ते शिक्षण सिकाइले विद्यार्थीहरूको शैक्षिक उपलब्धि बढ्छ । लैंगिक दूरी घट्छ । अभिभावक शिक्षाको पनि काम गर्छ । विद्यार्थीले घरको वातावरण विद्यालयमैत्री भएको पाउँछ (विश्व बैंक, ‘अन्डरस्ट्यान्डिङ दि ड्राइभर्स अफ इन्टरजेनरेसनल एजुकेसनल मोबिलिटी इन डेभलपिङ कन्ट्रिज’, २०२१) । सोही अध्ययनले भनेको छ— यो शिक्षण विधिले ज्ञानको स्थानान्तरणमा मद्दत गर्छ । ज्ञान, विज्ञान तथा प्रविधिको पुनरुत्पादन (रिप्रोडक्सन) मा सघाउँछ । शैक्षिक रूपान्तरणका लागि पनि परिवेश सिर्जना गर्छ ।
नियमित कक्षा बिथोलिए के गर्ने ?
बहुपुस्ते शिक्षणले नियमित समय तालिका बिथोलिन सक्छ । यसरी बिथोलिएको समय तालिका मिलाउन भर्ना समय तालिका (वाटरफल स्केजुल) लागू गर्ने गरिएको छ । यो संस्कृतिअनुसार विद्यार्थीलाई अनुकूल हुने समय पहिचान गरिन्छ । बिहान, दिउँसो वा राति जुन बेला पनि तिनको समय मिल्न सक्छ । सोही समयमा शिक्षकको सहकार्यमा कक्षा सञ्चालन गर्ने/गराउने गरिन्छ । यसका लागि समर्पित शिक्षकको जरुरी छ । विद्यार्थीको लगनशीलता पनि उत्तिकै जरुरी छ । भर्ना समयमा चल्ने कक्षाहरू आमने–सामने स्वरूपका पनि हुन सक्छन् । अनलाइन कक्षाका पनि हुन सक्छन् । रेकर्डेड कक्षाका पनि हुन सक्छन् । स्वाध्याय शिक्षणका पनि हुन सक्छन् । परियोजनामार्फत विद्यार्थीलाई सिक्ने सिकाउने अवसर दिन पनि सकिन्छ । लघु अनुसन्धान गराउन पनि सकिन्छ । समस्यामा आधारित कार्यहरू पनि गराउन सकिन्छ । सत्य घटनामा आधारित कक्षा पनि सञ्चालन गर्न सकिन्छ ।
नेपालले के गर्न सक्छ ?
सर्जक भएर सोच्ने तथा नवीन सोचमा जाने रहर हुने हो भने नेपालले अनेकन कार्यहरू गर्न गराउन सक्छ । त्यसो गर्नाले बहुपुस्ते शिक्षाको संस्कार बन्छ । स्कुलको तहमा । विश्वविद्यालयको तहमा । तेस्रो उमेर समूहको विश्वविद्यालयको तहमा । तलका बुँदाहरूले यो भनाइलाई थप पुष्टि गरेका छन् ।
क) अभ्यासको खोजी : साउँभन्दा ब्याज प्यारो । यो नेपाली उखानले भन्छ— हजुरबा–हजुरआमाले छोराछोरीभन्दा नातिनातिनालाई बढी माया गर्छन् । संयुक्त परिवारवाला नेपालीको अनुभूति हो यो । तेल भिसामा विदेशिने हजुरबा तथा हजुरआमाले पनि यही कुरा सम्झाएका छन् । मधेशको लोरी गाउने आमा तथा हजुरआमा पुस्ताले सोही कुरा बताएका छन् । कथा सुनाउने हिमाल, मधेश तथा पहाडको संस्कारले पनि यही कुरालाई इंगित गरेको छ । यसको अर्थ हो— हामीले हाम्रा संस्कारको खोजी गरे हुन्छ । उद्देश्यको खोजी । विषयवस्तुको खोजी । शिक्षण विधिको खोजी । मूल्यांकनको खोजी । परिणतिको खोजी । यस्ता खोजीहरूले भन्छन्— हामीसँग बालबालिकालाई संस्कार दिने संस्कृति छ । आ–आफ्नै जातको । जातिको । धर्मको । परिवेशको । यो पुर्ख्यौली सम्पदाको खोजी गर्न सक्छ नेपालले । प्राध्यापकमार्फत । शिक्षकमार्फत । जनप्रतिनिधिमार्फत । सेवा निवृत्त व्यक्तिहरूमार्फत । निष्पक्ष अध्ययनकर्ता समूहमार्फत ।
ख) शिक्षक–प्राध्यापकको तयारी : शिक्षक तथा प्राध्यापक तयारी अर्को कुरा हो । यसका लागि कम्प्युटर एप्स बनाउनु जरुरी छ । फेसबुकमा सन्देश पठाउने तरिका अपनाए पनि हुन्छ । सबै शिक्षक तथा प्राध्यापकहरू यसमा अभ्यस्त छन् । मोबाइल बोक्ने ७३ प्रतिशतसँग त स्मार्ट फोन पनि छ (जनगणना, २०७९) । यसो गर्नाले शिक्षक तथा प्राध्यापकहरू तयार हुन्छन् । पालिका तथा क्याम्पसमै पनि संवाद कार्यक्रम सञ्चालन गर्न सकिन्छ । जानकारी लिने रूपमा । जानकारी दिने रूपमा । जानकारी लिने भनेको बहुपुस्ताबीचको संवाद के विषयमा हुन्छ ? यो प्रश्नले विषयवस्तु चिनाउँछ । विषयवस्तु प्रस्तुत गर्ने शैली चिनाउँछ । त्यस क्रममा कुन पाठ जोड्न/जोडाउन सकिन्छ भन्ने सुझ दिन्छ । सुझका आधारमा कार्यक्रम तय गर्ने बाटो दिन्छ । कसरी सन्दर्भ, विषयवस्तु तथा विधि जोड्न सकिन्छ भन्ने चिन्तन पलाउँछ । कसरी पढाइको मूल्यांकन गर्ने भन्ने कुराको जानकारी हुन्छ ।
ग) पाठ्यक्रम तथा पाठ्यपुस्तक मिलान : बहुपुस्तीय पढाइले विद्यार्थीको सन्दर्भीय ज्ञान बढाउँछ । त्यो ज्ञानले विद्यार्थी पाठ्यपुस्तकमा अटाउँदैन । दिइएको पाठ्यक्रममा पनि अटाउँदैन । यसका लागि शिक्षक तथा प्राध्यापकलाई करुवा शिक्षणबाट बाहिर ल्याउनुपर्छ । बाहिर ल्याउन समय तालिका बदल्नुपर्ने हुन्छ । परियोजना कार्य दिनुपर्ने हुन्छ । अनुसन्धान गर्नुपर्ने हुन्छ । पाठ्यक्रमसँग जोड्नुपर्ने हुन्छ । पाठ्यपुस्तकसँग मिलाउनुपर्छ । परीक्षा प्रणालीसँग भिडाउनुपर्ने हुन्छ । अनि अपेक्षाअनुसार विद्यार्थीको गुणस्तर तथा गरिखाने सीप भए/नभएको कुराको परीक्षण गर्नुपर्छ । यो कामका लागि शिक्षक तथा प्राध्यापकलाई सघाउनुपर्ने हुन्छ ।
घ) बहुज्ञानमा विश्वास : पुस्तापिच्छेको ज्ञान, सीप तथा अभिवृत्तिमा फरकपना भेटिन्छ । यो स्वाभाविक पनि हो । यो स्वाभाविक चिन्तनलाई सधैं बासी बन्ने पाठ्यपुस्तकले समावेश गर्न सक्तैन । त्यही स्वरूपको पाठ्यक्रमले पनि समावेश गर्न सक्तैन । त्यसमाथि पनि सानो क्षेत्रफलमा धेरै विविधता भएको देश नेपालमा शिक्षक तथा प्राध्यापकबाहेक अरूले बहुज्ञान, सीप तथा अभिवृत्तिलाई एकसाथ संकलन गर्न सक्तैनन् । जगेर्ना गर्न पनि सक्तैन । विकसित बनाउन पनि सक्तैनन् । पाठ्यवस्तुमा जोड्न पनि सक्तैनन् । यसैले शिक्षक तथा प्राध्यापकलाई बहुज्ञान, बहुसीप तथा बहुअभिवृत्तिको संयोजक बनाउनुपर्छ । पुर्खाको शब्दमा त्रिकालदर्शी । भूत, भविष्य तथा वर्तमान जानेको । यो लेखको सम्बन्धमा भन्दा अनुभवी पुस्ताको ज्ञान, सीप तथा अभिवृत्ति जान्ने । युवा पुस्ता तथा युवोत्तर पुस्ताको ज्ञान, सीप तथा अभिवृत्तिमा जोड्न जान्ने । यो कुरामा शिक्षक तथा प्राध्यापकलाई जानकार बनाउनुपर्छ ।
ङ) बहुज्ञान, बहुसीप तथा बहुप्रविधि जोड्ने कला : बहुपुस्ताका ज्ञान, सीप, तथा प्रविधिमा धर्मशास्त्रीय ज्ञान हुन्छ । विज्ञानको ज्ञान हुन्छ । संस्कारको ज्ञान हुन्छ । अनुभवीय ज्ञान हुन्छ । यी ज्ञान, विज्ञान, प्रविधिहरू जोड्ने कला शिक्षक तथा प्राध्यापकमा हुनुपर्छ । यसका लागि शिक्षक तथा प्राध्यापकहरू योजक बन्नुपर्छ । ज्ञानको योजक । विज्ञानको योजक । प्रविधिको योजक । त्यसैले तिनलाई योजक कलामा पारंगत बनाउनुपर्छ । मिल्ने ज्ञान, सीप तथा प्रविधि खोज्नमा । नमिल्ने ज्ञान, सीप तथा प्रविधिउपर शोध गर्नमा । परीक्षण गर्नमा ।
निचोड के त ?
ज्ञान सर्वत्र छ । विज्ञान पनि सर्वत्र छ । प्रविधि पनि सर्वत्र छ । तिनलाई चिन्ने र खोज्नेहरू पनि कुनै न कुनै पुस्तामा छन् । करुवा शिक्षण शैलीमा अभ्यस्त शिक्षक तथा प्राध्यापकहरूले ती सबै ज्ञान, सीप तथा प्रविधिमा जानकारी राख्दैनन् । बहुपुस्ते शिक्षण कलाको प्रयोग गर्नाले सबै पुस्ताका जानकारहरू एकै बिन्दुमा आउँछन् । तिनका ज्ञान, सीप तथा प्रविधिले अनेकन पुस्तक पढ्न बाध्य गर्छन् । वेभ सर्फिङ गर्न बाध्य गर्छ । नवीन लेखहरू खोज्न कर लगाउँछ । सर्जक बन्न बाध्य पार्छ । यसो गर्नासाथ विद्यार्थीहरू स्वत : एक्काइसौं शताब्दीका बन्न थाल्छन् । आत्मआलोचक । समालोचक । सर्जक । सहकार्यी । अन्तरपुस्ता सञ्चारक । यसबाहेक अहिले शिक्षक तथा प्राध्यापकको संख्या पुगेन भन्ने समस्याको पनि तत्स्थानमा समाधान भेटिन्छ । आमने–सामने तरिकाबाट । आधुनिक प्रविधि प्रयोगबाट ।
त्यस्तैगरी शिक्षक एवं प्राध्यापक निर्णायक बन्नुपर्छ । अन्तर्वार्तामार्फत बहुपुस्ता जोड्ने कि ? कथा भन्ने संस्कारलाई सबैको साझा अभ्यास बनाउने कि ? परियोजना कार्य गराउने कि ? सत्य घटनामा आधारित तरिका (फेनोमेनोलोजिकल विधि) अपनाई पढाउने कि ? निश्चित विषयमा मात्र बहुपुस्ते शिक्षण सिकाइको अभ्यास गर्ने कि ? सबै विषयमा यो विधिको उपयोग गर्ने कि ? दिगो विकास यसरी सम्भव रहेछ भनी यसलाई शिक्षाको अभिन्न अंग बनाउने कि ? रूपान्तरण पनि यही तरिकाबाट सम्भव छ भनी अगाडि बढ्ने कि ? यी र यस्ता अनेकन प्रश्नहरूको उत्तर खोज्नुपर्ने हुन्छ । प्रश्न हो– करुवा शिक्षण विधिमै रम्ने रमाउने कि बहुपुस्ताको ज्ञान, सीप तथा प्रविधि जोडेर विद्यार्थीलाई सन्दर्भसँग सिक्ने एवं सन्दर्भसँग जोड्ने वा जोडिन सक्ने बनाउने ? निर्णायकको किटानी सोचको पर्खाइमा म जस्ताहरू प्रतीक्षार्थीहरू छौं ।
कान्तिपुरबाट।