राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। 

जुन १० वर्षपछि ११ प्रतिशतले बढेर २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। यसअनुसार वार्षिक जनसंख्या वृद्विदर ०.९२ प्रतिशत देखिन्छ। 
प्रतिवेदनका अनुसार तराईमा बसोबास गर्ने संख्या बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या घट्दै गइरहेको देखिन्छ। 

नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु गरिएको थियो। त्यसयता हरेक १० वर्षमा जनगणना गरिँदै आएको छ। 

ताजा जनगणनाअनुसार पछिल्लो १० वर्षमा बिजुली पहुँच बढेर ९२.२ प्रतिशतमा पुगेको छ भने साक्षरता दर पनि बढेर ७६.३ प्रतिशत पुगेको छ। 

कुल जनसंख्या २,९१,६४,५७८, वृद्धिदर ०.९२ प्रतिशत
१. नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छन्। जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ जना रहेका छन्। 

कुल जनसंख्यामा महिलाको संख्या ५१.०२ प्रतिशत र पुरुष ४८.९८ प्रतिशत रहेका छन्। कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ जना छन्।  

२. राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनका अनुसार नेपालको जनसंख्या वृद्विदर०.९२ प्रतिशत रहेको छ। २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत प्रति वर्ष थियो। 

कहाँ कति बस्छन्? 
३. प्रतिवेदनका अनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ। जुन २०६८ सालमा १८० मात्र थियो। 

भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रति वर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) छ। 

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत अर्थात १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४०.३१ प्रतिशत अर्थात १ करोड १७ लाख ५७ हजार ६२४ जना र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत १७ लाख ७२ हजार ९४८ जनसंख्या रहेको छ। 

जुन दश वर्ष अघि अर्थात् २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१ करोड १३ लाख ९४ हजार ७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७ लाख ८१ हजार ७९२ जना) रहेको थियो।

४. देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६५८ जनाको अक्सर बसोबास रहेको छ। 

बिजुली प्रयोग गर्ने जनसंख्या ९२.२ प्रतिशत
५. प्रतिवेदनका अनुसार बत्ती बाल्न प्रयोग गरिने स्रोत अनुसार धेरैजसो घरपरिवारहरुले आफू बसोबास गरेको घर-आवासीय एकाइमा बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्ने गरेका छन्। 

गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ।

६. नेपालको ३.८८ प्रतिशत परिवारहरुमा कुनै पनि साधन तथा सुविधा उपलब्ध नभएको उल्लेख छ। ९६.१२  प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ।

साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ। 

कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको छ।

महिलाको नाममा २३.८ प्रतिशत घरजग्गा
७. परिवारमा महिलाको नाममा रहेको घरजग्गा २३.८ प्रतिशत पुगेको छ। त्यसैगरी परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो।

८. कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गर्ने परिवारहरुको कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ (९.४%) रहेका छन्। 

यस्ता साना घरेलु व्यवसाय सञ्चालन गर्ने कुल परिवारमध्ये घरेलु उद्योग १ लाख ३७ हजार ६४४ (२१.९ %), व्यापार/व्यवसाय ३,१०,६५१ (४९.५ %), यातायात ३४ हजार ६५६(५.५%), सेवा ६९,१७७ (११.०%) र ७५ हजार ५५९ (१२.०%) अन्य किसिमका व्यवसाय सञ्चालन गर्ने परिवार छन्। 

साक्षरता दर ७६.३ प्रतिशत
९.
 देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। 

अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो।

१०. उत्तीर्ण गरेको शैक्षिक तह कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन्। एसएलसी वा सो सरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन्।

यसैगरी एसएलसी भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरु १९.५ प्रतिशत रहेका छन्। अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन्।

११. नेपालमा २ प्रतिशत, व्यापार-व्यवसाय २.८ प्रतिशत, अध्ययन-तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत, प्राकृतिक प्रकोप ०.७ प्रतिशत, कृषि ३.९ प्रतिशत, घर फर्किएको ४.१ प्रतिशत र अन्य ६.६ प्रतिशत रहेका छन्। बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.६ प्रतिशत काम-रोजगारीको कारण र महिला ५८.२ प्रतिशत विवाहका कारण रहेका छन्।

१२. मातृ मृत्युसम्बन्धी विवरण गणनाको सन्दर्भ अवधि (गणना भएको दिन देखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन उमेर समूह (१५–४९ वर्ष) का १२,९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सीबाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत ) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको छ। यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ।

१३. बालबालिकाको बसाइँको अवस्था १८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिकामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिकाहरु आमाबाबु दुवैसँग बस्ने गरेका छन्।

आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन्।

आर्थिक रुपले सक्रिय १ करोड ५६ लाख, निष्क्रिय ८९ हजार 
१४. आर्थिक क्रियाकलाप आर्थिक रुपले सक्रिय जनसंख्या २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरुमध्ये १ करोड ५६ लाख ८९ हजार ७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२ लाख ११ हजार ०१२ जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् जब कि आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८ हजार ०७९ जना छन्। 

अक्सर आर्थिकरुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड ५६ हजार ८९ हजार ७७७ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १ करोड १० लाख ३८ हजार १०५ जना (७०.३५ प्रतिशत) अक्सर आर्थिक रुपले सक्रिय र ४६ लाख ५१ हजार ६७२ जना (२९.६५ प्रतिशत) अक्सर आर्थिक रुपले निष्क्रिय रहेका छन्।

अक्सर रोजगार जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड १० लाख ३८ हजार १०५ जना अक्सर आर्थिकरुपले सक्रिय व्यक्तिहरु मध्ये १,०२,७०,४४७ जना (९३.०५ प्रतिशत) अक्सर रोजगारर ७,६७,६५८ जना (६.९५ प्रतिशत) अक्सर बेरोजगार रहेका छन्।

१५. आर्थिक कामको पेशागत वर्गीकरण अनुसारको जनसंख्या जनगणनाको नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपालस्तरीय पेशागत वर्गीकरणअनुसार प्रस्तुत गरिएको छ। 

आर्थिक काम गरेका कुल जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० मध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला रहेका छन्।

आर्थिक काम गरेका जनसंख्यामध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ५०.१ प्रतिशत रहेका छन्। 

यसपछि क्रमशः सामान्य वा प्राथमिक पेशाका कामदारहरु २३.० प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरु ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरु ५.६ प्रतिशत, व्यवस्थापकहरु ५.१ प्रतिशत रहेका छन्।

आर्थिक कामको संस्थागत क्षेत्र अनुसारको विवरण २०७८ अनुसार गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा बढी घरायसी क्षेत्रमा काम गर्ने ६१.८ प्रतिशत, गैर वित्तीय संस्था ३२.७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत नाफा नकमाउने संस्था ०.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन्।

कोभिडको अवरोधबीच जनगणना
जनगणनाको स्थलगत तथ्याङ्क संकलनको लागि पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य वि.सं. २०७८ वैशाख २६ देखि जेठ १४ सम्म (२० दिन) र दोस्रो चरणको मुख्य गणना कार्य वि.सं. २०७८ जेठ २५ देखि असार ८ सम्म (१५ दिन) गर्ने गरी तोकिएको थियो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको कारण २०७८ वैशाख १९ को नेपाल सरकारको निर्णयअनुसार पूर्वनिर्धारित समयतालिकाअनुसार सुरु भइसकेको जनगणनाका सबै क्रियाकलापहरु स्थगित गरी कोभिड–१९ को प्रभाव केही कम भएपछि २०७८ भदौ २१ को निर्णयानुसार जनगणना पुनः सञ्चालन भएको थियो।

सोअनुसार स्थानीय जनगणना कार्यालयहरुको समय २०७८ मंसिर १५ सम्म र प्रदेश तथा जिल्ला जनगणना कार्यालयहरुको अवधि २०७८ मंसिर मसान्तसम्म थप गरिएको थियो।

संशोधित कार्यतालिकाअनुसार पहिलो चरणको घरपरिवार सूचीकरण कार्य वि.सं. २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) र दोस्रो चरणको मुख्य गणना कार्य वि.सं.

२०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन भएको थियो।

नेपालखवरबाट।

efcbd23f-e15b-4018-88eb-4351ae4c8708