सप्तरी, १३ फागुन। कुटपिटबाट घाईते भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ निवासी गितादेवी सदाको आर्थिक अभावका कारण उपचारका समस्या भएको छ। घाँस काटेको निहुँमा गत माघ २५ गते डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले २८ बर्षीय सदामाथि निर्घात कुटपिट गरेको थियो। कुटपिट गर्ने यादव फरार छ।
कुटपिटबाट घाईते सदाको स्थानीय पातो बजारस्थित युके मेमोरियल अस्पतालमा प्राथमिक उपचार भएपनि आर्थिक अभावका कारण थप उपचारका लागि अन्यत्र अस्पताल लैजान नसकिएको पीडित परिवारको भनाई छ।
‘घाईतेको सोही अस्पतालमा करिब एकसातासम्म उपचार भयो; घाईतेका आफन्त श्रीप्रसाद सदाले भने, ‘घाईतेको अवस्था बुझ्न अहिलेसम्म नत कुटपिट गर्ने आएको छ, नत उनको आफन्तहरु नै।’ अहिलेसम्म परिवारजन र आाफन्तहरुबाट पैसा उठाएर जेनतेन गिताको उपचार गराएका छौं, थप उपचारका लागि पैसा नभएसम्म गितालाई घरमै ल्याएर राखेका छौं, उनको गुनासो छ।
‘युके मेमोरियल अस्पताल पातोका डाक्टरले थप उपचारका लागि गितालाई बाहिर लैजानुस् भनेको छ; श्रीप्रसाद सदाले भने, ‘तर हामीसँग अहिले पैसा नै छैन्, पैसा नभपछि कसरी लैजानु, भएको पैसा सबै सकियो।’ गिताले जतिबेला पनि भन्छिन्, मेरो ढाड दुख्दैछ, टाउको दुख्दै, तर पैसा नभएर उपचारको लागि बाहिर अस्पताल लैजानै सकिरहेको छैन्, श्रीप्रसादको भनाई छ।
गिताको श्रीमान् लखन सदा करिब डेढ महिनाअघि मात्र बैदेशिक रोजगारका लागि कुबेत पुगेको छ।
‘बैदेशिक रोजगारका लागि बिदेश गएका गिताको श्रीमान्को पनि त्यहाँ राम्रो काम पाएको छैन्, भनेर जानकारी आएको छ, त्यसैले त्यहाँबाट पनि तत्काल पैसा आउने सम्भावना छैन्; श्रीप्रसादले भने, ‘गिताको उपचार कसरी गराउने भन्ने हामीलाई चिन्ता लागेको छ।’
गिता गाँउका साहुमहाजमा हरवा चरवाको रुपमा काम गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको थियो।
‘तर मजदुरी गरेर परिवार पाल्ने गिता कुटपिटबाट घाईते भएपछि अहिले उहाँको तीन जना छोराछोरी के खाने भन्ने चिन्तामा छन्; स्थानीय रामदेव सदाले भने, ‘अहिलेसम्म हामीले गिताको छोराछोरीलाई हेरचाह गरिरहेका छौं।’
लच्छारपच्छार गर्दै लाठ्ठीले निर्घात कुटपिट गरेकाले गिताको शरिरको बिभिन्न भागमा निलडाम छ। कुटपिट गर्ने अझै फरार छ। घटना भएको दुई साता भन्दा बढी समय बितिसक्दाँ पनि कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरीले आलटाल गरिरहेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन्।
कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै केही दिनअघि हरवा चरवा डाक्नेश्वरी नगरसमितिको अगुवाईमा पीडितका आफन्त तथा स्थानीयहरुले प्रदर्शन गरेको थियो।
‘म खेतको आलीमा बसेर फोन गरिरहेको थिए, एक्कासी आएर लच्छारपच्छार गर्दै निर्घात कुटपिट गरिरहयो’ घाईते गिताले भने, ‘हारगुहार गर्दापनि कोही जोगाउन आएन्, पछि मरि सक्यो भनेर फ्यालेर जिवछ भा¥योे।’ अहिले पनि आफ्नो ढाड, टाउको दुखि रहेको छ उनको दुखेसो छ।
आफुमाथि निर्घात कुटपिट गर्नेलाई अझै प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन नसकेकोले न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरे।
‘पीडक बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको पनि एक साता भन्दा बढी समय भईसक्यो तर पक्राउ गर्न प्रहरीले सक्रियता देखाएको छैन्’ द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रममा सहजकर्ता नरेश सदाले भने, ‘प्रहरीले सक्रियता नदेखाएकोले पीडितलाई न्याय दिलाउन न्यायालयसम्म पुग्ने योजना बनाएका छौं।’ पीडितको उपचारको लागि सहयोग जुटाउने काम पनि भईरहेको सहजकर्ता सदाको कथन छ।
यता इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजु अधिकारीले कुटपिट गर्नेको खोजि कार्य भईरहेको बताए।