- सुरेन्द्रकुमार कामती
सिरहा, ३ फागुन। महाशिवरात्रिको पूर्वसन्ध्यामा सिराहाको प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी (शिवलिंगमा जडान गरिएको चाँदीको पाता) चोरी भएको छ।
सिराहा नगरपालिका– १२ मा कमला नदीको पूर्वी तटमा रहेको प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट अज्ञात समूहले शिवलिंगमाथि जडान गरिएको साढे चार किलोको चाँदीको जलहरी मंगलबार राति चोरी गरेको छ।
मन्दिरबाहिर र शिवलिंग रहेको कक्षभित्र पनि सिसिटिभी जडान गरे पनि अज्ञात समूहले शिवलिंगमा जडान गरिएको चाँदीको जलहरी चोरी गरेको छ। चाँदीका जलहरी चोरी गरेका चोरहरूले शिवलिंगबाहिर रहेको आधा किलोको तामाको नाग, दानपेटिकासमेत चोरी गरेका छन्।
त्यससँगै उनीहरूले आफूलाई सुरक्षित राख्न सिसिटिभी क्यामेराको रिसिभर पनि चुँडाएर लगेको छ। सारस्वरनाथ महादेव मन्दिरका पुजारी सोभिलाल यादवले पाँच वर्षअघि सारस्वरनाथ महादेवको शिवलिंगमा राजन भारतीले आफ्नो निजी लगानीमा चाँदीको जलहरी लगाएका बताएका छन्।
राति उठ्न खोज्दा ढोका थुनिएकोले समयमै छरछिमेकलाई खबर गर्न नसकिएको उनले बताए । चोरी भएको चाँदीको जलहरी पाँच लाख वढी मूल्यको रहेको उनले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाले सारस्वरनाथ महादेव मन्दिरमा अवस्थित सारस्वरनाथ महादेवको शिवलिंगबाट जलहरी चोरी गर्ने चोरहरूको खोजी भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले मन्दिरबाट चोरी भएको चाँदीको जलहरी चोरीबारे अनुसन्धान भइरहेको बताए।