वीरगञ्ज, २ फागुन। वीरगन्जको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि १८ महिने बालकसहित दुई जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित नगरसभागृह नजिकै मंगलबार दिउँसो ना १ ह ३७४० नम्बरको ईरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा आदर्शनगरकै राजीव कुमार मालीका १८ महिने छोरा ऋषभ मालीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ऋषभको उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरीले जनाए। रिक्सा चालक ३५ वर्षीय रामसुन्दर दासलाई नियन्त्रणमा लिएर थप अनुसान्धान अगाडि बढाइएको प्रहरीको भनाई छ।
त्यस्तै, वीरगन्जकै अपौनीमा मालबाहक ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका २० अपौनीका नागेन्द्र ठाकुर रहेका छन्।
सोमबार राति बहुअरीबाट परवानीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४१८ नम्बरको ट्रकले साइकलमा सवार भइ परवानीपुरबाट अपौनीस्थित घर फर्किँदै गरेका ठाकुरलाई ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिएपछि साइकलबाट लडेर सडक छेउको सिमेन्ट रेलिङमा च्याप्पिइ गम्भीर घाइते भएका ठाकुरको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको थाहा नगरपालिका ४ पालुङ घर भएका ३३ वर्षीय रमेश गोम्बालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।