सूर्य वि.क.
वीरगञ्ज, २ माघ। जिल्ला प्रहरी कार्यालय पर्सामा १ महिनामा १ सय ७० वटा मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०७९/८० को पुष महिनामा मात्रै १ सय ७० वटा मुद्दा दर्ता भएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै बैंकिङ् कसुर सम्बन्धी मुद्धा दर्ता भएका छन्। पुष महिनामा मात्रै बैंकिङ् कसुर सम्बन्धी ५१ वटा मुद्दा दर्ता भएका छन्। हुण्डी कारोवार लगायत स्रोत नखुलेको अबै रकम बरामद गर्ने हुँदा र लेनदेनको समस्या बढीरहेको हुँदा बैंकिङ् कसुरका मुद्दा धेरै दर्ता भएको प्रहरी उपरीक्षक शाहको भनाई छ। त्यस्तै अभद्र व्यवहार सम्बन्धी ४४ वटा मुद्दा दर्ता भएका छन् । लागू औषध सम्बन्धी २२ वटा मुद्धा दर्ता हुँदा चोरी सम्बन्धी २१ वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शाहले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
लागु औषध सम्बन्धी मुद्धामा पुष महिनामै १ महिलासहित २३ जनालाई पक्राउ गर्न सफल भएको पनि प्रहरी उपरीक्षक शाहले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट ३ सय ८४ किलोग्राम गाँजा, २१ ग्राम हेरोईन, १ सय ३५ एम्पुल फेनारगन, १ सय २८ एम्पुल डाईजिल्याब, १ सय ३५ एम्पुल नुर्फिन, १ हजार ४ सय ९९ पिस नाट्राभेट ट्याब्लेट र १ हजार मिलिलिटरको ४४ बोतल कोरेक्स बरामद गरिएको छ।
सोही अवधिमा विभिन्न मुद्धाका ८ जना प्रतिवादीसहित ३५ जना फरार अभियुक्तलाई समेत पक्राउ गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। उनीहरुलाई ६ लाख ७५ हजार ५ सय रुपैया जरिवाना गरी ५ वर्ष ४ महिना र ९ दिनको कैद फैसला भएको पनि गिरीले बताए।
प्रवक्ता गिरीका अनुसार मोटरसाइकल चोरीका घटना पछिल्लो समयमा बढीरहेका छन्। जसमध्ये पुष महिनामा मात्रै १२ वटा मुद्दा दर्ता भएकोमा १६ वटा मोटरसाइकल बरामद गर्नुका साथै ३ जना विदेशीसहित १६ जनालाई पक्राउ गरिएको छ।
यही एक महिनाकै अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी कार्यालयहरुले १६ क्युबिक फिट काठ बरामद गरेर १२ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
२४ वटा भट्टी नष्ट गर्नुका साथै २ हजार २३४ लिटर तयारी मदिरा र ४ हजार ६७० लिटर कच्चा पदार्थ पनि बरामद गरिएको प्रवक्ता गिरीले बताए। प्रहरीले १० कट्टा क्षेत्रफलमा लगाइएको ८ हजार ५ सय बोट गाँजा र २ कट्टा क्षेत्रफलमै लगाइएको अफिम पनि नष्ट गरेको छ।