सिरहा, ९ जेष्ठ। सिराहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै व्यक्तिगत घटना दर्ता निःशुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।
लहान १० ग्रामीणस्थित नगर कार्यपालिकाको कार्यालयमा सोमबार आयोजित एक समारोबीच पदभार ग्रहण गर्दै मेयर चौधरीले नगरको २४ वटै वडाका सबै समुदायलाई व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने घोषणा गरेका हुन् । ‘नागरिकताको सिफारिश, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क हुनेछ’ उनले भने ‘त्यसका लागि प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगरका २४ वटै वडाका सचिवहरुलाई सोमबार नै परिपत्र गरिएको छ ।’
नगर क्षेत्रभर मुसहर समुदायको कसैको मृत्यु भएमा किरिया खर्चका लागि नगरले नगद पाँच हजार रुपैयाँ उपलब्ध गराउने मेयर चौधरीले घोषणा गरेका छन् । तीन दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट मेयर चौधरी आठ हजार एक सय ३६ मतको फराकिलो अन्तरले २० हजार एक सय पाँच मतसहित निर्वाचित भएका हुन् । उनले सोमबार नै नगर सभाहलमा नवनिर्वाचित वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ दिलाएका छन् ।
तलब सुविधाले दलित बस्तीमा खाद्यान्न
पदरभार ग्रहणसँगै उनले नियमानुसार पाउने तलब सुविधाको रकमले हरेक महिना नगरको सबै दलित बस्तीमा चामल, नुन र खानेतेल बाँड्ने घोषणा समेत गरे । ‘नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने छु’ उनले भने ।
कोरोना महामारीको समयमा गरिब बिपन्नलाई राहत बाँडदा बाँड्दै स्वयम् संक्रमित भएर गत २२ जेठमा श्रीमती संगिता कर्माचार्यको निधन भएयता उनले हरेक महिनाको २२ गते नगरको कुनै न कुनै ठाउँमा गरिब, बिपन्न, असहाय, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलाई व्यक्तिगत खर्चमा खाद्य सामग्री, लत्ताकपडा, पोषिलो खानेकुरा बाँड्दै आएका छन् ।
‘अप्ठ्यारोमा परेका गरिब, बिपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई निरन्तता दिन सहयोग अभियान मेयर हुँदा पनि जारी रहने छ ।’ अग्रदस्ताबाट।