राजविराज, ७ बैशाख । अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट भुमिका निर्वाह गर्ने सप्तरीका दुई जना प्रहरी निरीक्षलाई आज सप्तरी जिल्ला अदालतले सम्मान गरेको छ ।
बिभिन्न अदालत र न्यायाधिकरणको फैसला बमोजिम ठहर भएको कैद जरिवाना असूली फर्छाैटका क्रममा सक्रिया देखाएको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरक्षक उमाशंकर प्रसाद साहलाई जिल्ला अदालतले सम्मान गरेको हो।
राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधिश चन्द्रमणि ज्ञवालीले उनीहरुलाई कदरपत्रसहित सम्मान गरे।
बिभिन्न मितिमा अदालतबाट भएको फैसला कार्यान्वयनकोे क्रममा प्रहरी निरीक्षक पासवानले २०७७ असोज ११ गते देखि हाल सम्म ४ सय ५९ जना फरार प्रतिवादीलाई पक्राउ सफल भएको छ ।
खुल्ला सीमानाका कारण बिगतमा हुदै आएको तस्करी, लागुऔषध ओसार पोसार लगायतका कार्य नियन्त्रणमा प्रहरी निरीक्षक पासवानले उल्लेख्यी भुमिका खेलेको स्थानीयहरुले बताएका छन् । प्रहरी निरीक्षक पासवानको कार्यकालमा करिब एक करोड छ लाख ३४ हजार रुपैयाँ बराबरको माल समान पक्राउ गरी कार्वाहीको लागि जिल्ला भन्सान कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ।
यसैगरी उनले हराएरको मानिस २१ जना, ट्रक १ थान, पिकअप ३, मोटरसाईकल १, ट्याकटर १ र हराएको मोवाईल ३३ थान लगायतका सामानको खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ ।
यस्तै प्रहरी निरीक्षक साहले २०६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सघाउनुभएको छ । अपराध अनुसन्धान र लागुऔषध नियन्त्रणमा उत्कृष्ट काम गरेको भन्दै केही दिनअघि प्रहरी निरीक्षकद्वय पासवान र साहलाई आईडिया नेपाल नामक गैर सरकारी संस्थाले पनि सम्मान गरेको थियोे।
जिल्ला अदालतबाट सम्मानित भएपछि प्रहरी निरीक्षकद्वयले सप्तरीमा कार्यरत रहँदा पाएको सम्मानले थप जिम्मेवार भएर काम गर्ने हौसला मिलेको बताए।