वीरगञ्ज, २९ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषधसहित १ जनालाई पक्राउ गरेको छ। विशेष सूराकीको आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसर्पाकबाट प्रतिबन्धित लागुऔषधसहित १ जनालाई पक्राउ गरेको हो।
शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दोलखाको जिरी नगरपालिका वडा नम्बर ७ निवासी २४ वर्षीय बाङचुङ् शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शेर्पाको साथबाट डाइजेपाम १ सय २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनार्गन १ सय २६ एम्पुल र बुप्रीनुर्फीन १ सय एम्पुल गरी जम्मा ३ सय ८२ एम्पुल लागुऔषध बरामद भएको हो ।
लागुऔषधसहित नियन्त्रणमा लिएर शेर्पाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए।