जनकपुर, २३ चैत । धनुषामा एक युवकको वेवारिसे अवस्थामा शव भेटिएको छ । जिल्लाको हंसपुर नगरपालिका ७ का १८ वर्षीय विजय महराको शव वेवारिसे अवस्थामा गहुँ खेतमा भेटिएको हो ।
महराको शव सोही नगरपालिकाको वडा ६ मा गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।
‘महराको हत्या नै भएको देखिन्छ’ डीएसपी बस्नेतले भने, ‘मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं ।’
उनका अनुसार शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।