वीरगञ्ज, २० चैत । पर्साको बहुदरमाई नगरपालिकामा झडप भएको छ । नेकपा एमाले नगर कमिटीले नगरपालिकाले पछिल्लो आर्थिक वर्षमा गरेको खर्चको विवरण मागगर्दा नगरपालिकामा झडप भएको हो ।
चैत १० गते नेकपा एमाले नगर कमिटीले नगरपालिकाले गरेको खर्च विवरण माग गर्दै १३ सुत्रिय मागसहित ज्ञापन पत्र बुझाएको थियो । नगरपालिकालाई ४ दिनको अल्टिमेटम दिएपनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले पुनः ३ दिनको म्याद मागेका थिए । सोही अनुसार १७ गते पुनः जाँदा पनि नगरपालिकाले तथ्यांक नदिएर उल्टै २० गते आउन भनेको नेकपा एमालेका नेता शिव पटेलले बताए ।
पटेलका अनुसार आज २० गते नगरपालिकामा पुग्दा नगरपालिकाको प्रवेशद्वारमै नगरप्रमुख नितेन्द्र साह तेलीले आफ्ना कार्यकर्तालाई लगाएर भित्र प्रवेश गर्न नदिँदा झडप भएको हो । झडपका क्रममा नेकपा एमालेका नेता एवम् नगरपालिकाको नगरप्रमुखका प्रत्यासी पटेलमाथि पनि हातपात भएको प्रत्यक्षदर्शीले बताए । जनताको पहरेदारको रुपमा जनप्रतिनीधिलाई खबरदारी गराउने र नागरिकको सूचना पाउने अधिकारको सदुपयोग गर्दै सूचना माग गर्दा पनि नदिएको नेता पटेलको भनाई छ ।
उन प्रश्न गर्छन् , ‘पारदर्शीपूर्वक काम भएको भए तथ्यांक उपलब्ध गराउन किन डर ? बहानाबाजी गरेर नदिने र उल्टै सूचना माग्न जाँदा भाडाका गुण्डा लगाएर हातपात गर्न खोज्ने ?’ यसअघि पनि ४ वर्षदेखि पटक पटक नगरपालिकाको आम्दानी र खर्च विवरण सार्वजनिक गर्न अपिल गर्दा पनि नगरेको र सूचना पनि उपलब्ध नगराएको पटेलको आरोप छ । प्रशासनको बलमा नेता एवम् कार्यकर्तालाई कुटपिट गरेको पटेलले बताए ।
नगरपालिकामा ताल्चा लगाउने उद्देश्यले पुगेका एमालेका नेता कार्यकर्ताहरुलाई रोकेर ताला लगाउन नदिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । सामान्य धकेलाधकेल भएपनि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितीका कारण झडप हुन नपाएको बस्नेतको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीसँगै सशस्त्र प्रहरी पुगेर सुरक्षा व्यवस्था कडा भएपछि झडप नभएर तितरवितर भएको बस्नेतले जानकारी दिए । नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहलाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।