वीरगन्ज,१२ चैत । मधेश प्रदेश सरकारले पर्साको पटेर्वासुगौली गाउँपालिका १ मा रहेको दुधेश्वर महादेव मन्दिर (भाठा धाम) लाई धार्मिक पर्यटकिय क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाठाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्ष सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
भाठाधामको पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधा निर्माणको जिम्मा प्रदेश सरकारको रहेको मुख्यमन्त्री राउतको भनाई छ ।
धार्मिक क्षेत्र घोषणा समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाठाधाम पर्यटकीय क्षेत्र विकासका लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरेका छन् । उनले भने, ‘पहिलो चरणमा ५ करोड दिने छौँ । पुनः आगामी वर्ष हामी रकम थप गर्दै जाने छौँ ।’
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरतप्रसाद साह, पर्सा क्षेत्र नम्बर ३ का निलम्वीत सांसद हरिनारायण रौनियार, जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको सहभागिता रहेको थियो ।
१०८ श्री दुधेश्वर महादेव मन्दिर भाठाधाम समितीका अध्यक्ष अलखदेव महतो थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।