वीरगञ्ज, ११ चैत । सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठी वीरगञ्जमा सम्पन्न भएको छ । मधेश प्रदेश सरकार, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मिडिया काउन्सिलको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
काउन्सिलका अध्क्ष शिवहरी प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सञ्चार मैत्री सरकार बन्नका लागि प्रदेश सरका तयार रहेको बताए ।
सञ्चारकर्मी एवम् पत्रकारहरुका लागि विभिन्न योजना ल्याउने र प्रदेशभित्रका पत्रकारको क्षमता अभिवृद्धिका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।
त्यसैगरी, मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले आचारसंहिता डराउनका लागि नभएर नियमन गर्नका लागि ल्याइएको बताए । प्रदेशभित्रका सञ्चार संस्थानहरुलाई व्यवस्थापन गर्ने र योजनाबद्ध ढंगले सबैलाई स्तरअनुसार लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनका लागि आचारसंहिता आवश्यक रहेको मन्त्री साहको भनाई छ ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, शिव पुरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, महासचिव श्याम बन्जारा लगायतले मिडियामैत्री बन्नुपर्ने र पत्रकारलाई प्रेस स्वतन्त्रता दिनुपर्नेमा जोड दिएका थिए ।
यसअघि बर्दीबास र राजबिराजमा सम्पन्न गोष्ठी शुक्रवार वीरगञ्जमा सम्पन्न भएको हो । गोष्ठीमा नेपाल पत्रकार महासंघ रौतहट, बारा र पर्साका अध्यक्ष, पदाधिकारी, सदस्यसँगै अन्य पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई काउन्सिलका सदस्य कैलाश दास र बन्दना झाले सहजीकरण गरेका थिए ।
यता नेपाल पत्रकार महासंघ पर्साले जानकारी बिना आफ्ना नजिककालाई मात्रै कार्यक्रममा बोलाएको भन्दै पत्रकार सम्बद्ध ३ संगठनले विरोध जनाएका छन् । नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपाल पर्साले विरोध जनाएका हुन् । युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले सयुँक्त रुपमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।