वीरगञ्ज, ११ चैत । वीरगञ्जमा १८ करोडको लागतमा निर्माण गरिने मानव सेवा आश्रमको शुक्रवार शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिका १५ लक्ष्मणुवामा महानगरपालिकाले उपलब्ध गराएको १८ कठ्ठा क्षेत्रफलमध्ये १४ कठ्ठा जग्गामा बन्न लागेको भवन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र न. १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सँयुक्त रुपमा शिलान्यास शिलान्यास गरिएका हुन् ।
शिलान्यास गरेसँगै सडकमा अलपत्र परेका बेसहारा व्यक्तिहरुलाई गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्दै आएको आश्रम वीरगञ्जका लागि परम्परागत एवम् मौलीक शैलीको नयाँ भवन निर्माण हुने आशा पलाएको भन्दै मानव सेवा आश्रम मधेश प्रदेशका संयोजक देवेश गुप्ताले खुसी व्यक्त गरे ।
भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खटिनेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसहितको भवन निर्माण गरिने गुप्ताको भनाई छ ।
बाँकी रहेको ४ कठ्ठा क्षेत्रफलको जग्गामा घुमघाम गर्नका निमित्त पार्क, शारिरीक अभ्याससँगै अन्य रचनात्मक गतिविधिका लागि निर्माण गरिने योजना रहेको गुप्ताले सुनाए । भवन निर्माणमा करिव १८ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भोजपुरी कला सँस्कृतिलाई झल्काउने, वातावरण सुहाउँदो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने लक्ष्यअनुसार काम सुरु गरिएको आश्रमकी संयोजक सानुमाया गुरुङ्ले बताइन् ।
शिलान्यास पूर्व कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आश्रम निर्माणमा लाग्ने खर्चका लागि प्रदेश सरकारले भएसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ बिनियोजन भएपनि जग्गाको आभवमा खर्च गर्न नपाएको बताउँदै मुख्यमन्त्री राउतले आश्रम निर्माणदेखि सञ्चालन गर्ने सम्म्का लागि लाग्ने खर्चसँगै अन्य व्यवस्थापनका लागि सरकारी एवम् गैरसरकारी स्रोतहरु भएको बताए ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आगामी बजेटमा आश्रमको भवन निर्माणका लागि विशेष बजेट छुट्याउने बताएका छन् । उनले मानवताको कामका लागि आफू सधै तयार रहने बताउँदै अन्य दातृ निकायबाट समेत समन्वय गरेर सहयोग उपलब्ध गराउने अठोट गरे ।
तिन वर्ष भित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गर्मीमा शितल र जाडोमा न्यानो दिने प्रविधि रेम्ड अर्थ प्रविधिबाट भवन निर्माण गर्न लागिएको छ । आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराएको छ । जसमध्ये २५ लाख रुपैयाँबाट आश्रम अगाडीको जग्गालाई बाटो प्रायोजनका लागि खरिद गरिएको छ र बाँकी २५ लाखबाट माटो पूर्ण र अन्य प्रारम्भिक कामहरु भइरहेको छ ।
मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानव सेवा आश्रमले वि.सं. २०८० भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, वि.सं.२०८१ सम्म जनचेतना फैलाउने र वि.सं. २०८२ बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ ।