वीरगञ्ज, ८ चैत । वीरगञ्जस्थित नारायणी अस्पतालको ल्याबमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको छ । अस्पतालको ल्याबमा कार्यरत मेडिकल टेक्नोलोजिस्ट अताउल हक र स्वीपर महेन्द्र राउतमाथि कुटपिट भएको हो ।
सोमवार राति साढे ९ बजेको समयमा ट्युब माग्न आएका ४÷५ जनाको समुहले उनीहरुलाई कुटपिट गरेको स्वीपर राउतले बताए । ट्युब निकालेर ल्याउन केही समय ढिला हुँदा भित्रै पसेर उनीहरुले कुटपिट गरेको मेडिकल टेक्नोलोजिस्ट अताउल हकको गुनासो छ ।
कुटपिटबाट २ जना सामान्य घाइते भएका छन् भने माइक्रोस्कोप, प्रिन्टर, कुर्सी, ट्युब लगायतका सामाग्रीमा क्षति हुँदा डेढ लाख बराबरको नोक्सानी भएको ल्याबका ईन्चार्ज हिराबाबु पाण्डेले बताए । उनले भने, ‘उचित पूर्वाधारबिना, अव्यवस्थित ढंगले सञ्चालन हुँदा पनि काम गरीरहेकै छौँ । अब असुरक्षाका बिच काम गर्न सक्दैनौ । शान्ती सुरक्षासँगै क्षतिपुर्ती पनि दिलाएर कारवाही गर्नुपर्छ ।’
ल्याबका ईन्चार्ज पाण्डेका अनुसार अस्पतालले कुटपिट गर्नेहरुविरुद्ध उजुरी दिने पनि तयारी गरेको छ । उजुरीबाट पनि उनीहरुलाई कारवाही नगरे थप आन्दोलन गर्ने चेतावनी पनि उनले दिए । सुरक्षीत ठाउँमा ल्याबको व्यवस्थापन गर्नुका साथै ईमर्जेन्सी र ओपिडी ल्याब छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने ल्याबका ईन्चार्ज पाण्डेले बताए । कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।
अन्य ३ जना भने फरार रहेकाले खोजी भईरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए । उनले भने, ‘ल्याबको सिसिटिभी क्यामरा बिग्रिएका कारण अनुसन्धानमा असहज भएपनि अनुसन्धानलाई तिव्र पारिएको प्रहरी निरीक्षक पुरीको भनाई छ ।