वीरगञ्ज, १ चैत । पर्साको जगरनाथपुर गाउँपालिका ५ मा रहेको श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय मसिहानीमा विद्यार्थीहरुले प्रदर्शन सहित तालाबन्दि गरेका छन् । बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा विषयगत शिक्षकको अभाव र भएका शिक्षकहरुको पनि अनियमितता भएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गर्दै प्रदर्शन गरेका हुन् ।
मंगलवार बिहान ११ बजे विद्यालयको डेस्क बेञ्च तोडफोड गरेका कक्षा १० सम्मका विद्यार्थीहरुले २ बजे तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत छात्र राज पटेलले बताए । पटेलले यात्रा डेलीसँग कुराकानी गर्दै भने, ‘कक्षा १२ सम्म पढाई हुने विद्यालयमै विषयगत शिक्षक छैनन् । भएका ७÷८ जनामा पनि पालैपालो विदा लिन्छन्, आज एक जना आउँदैन, भोली अर्को आउँदैन । हेडसर पनि महिनामा ५÷६ पटक विद्यालय आउनुहुन्छ ।’ यसअघि पटक पटक विषय गत शिक्षक र नियमित पठनपाठन गराउन भन्दै माग गर्दा पनि वेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य भएको पटेलको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक नैज्लुदिन मियाँ तेलीले विद्यालयमा तालाबन्दी भएको खबर पाएको बताए । आफू कार्यालयकै कामका कारण वीरगञ्जमा आएको बताउँदै प्रधानाध्यापक तेलीले विद्यार्थीहरुको माग सम्बोधनका लागि पहल गरेपनि गाउँपालिकाले शिक्षक नियुक्ती नगरेको स्पष्टिकरण दिए । उनले भने, ‘मैले पहल गरेको छु । शिक्षक नियुक्तीका लागि पालिकाले विज्ञापन खोलेर परीक्षा पनि लिईसकेको छ । तर शिक्षक नियुक्ती गर्न ढिलाई भईरहेको छ ।’ उनका अनुसार हाल विद्यालयमा ९ जना शिक्षक कार्यरत छन् । शिक्षक अभाव भएको स्विकार गर्दै तेलीले विद्यालयमा अनियमितता हुने भन्ने कुरा निराधार रहेको दावी गरे ।
वडा नम्बर ५ का वडाअध्यक्ष बिहारी महतो नुनियाले शिक्षक नियुक्ती गर्ने आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर पर्ने भएकाले आफुले केही गर्न नसकेको स्पष्टिकरण दिए ।