वीरगञ्ज, २८ फागुन । अभद्र व्यवहार गरेको भन्दै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुनीमाथि प्रहरीमा उजुरी परेको छ । आफ्नै गाउँपालिका अध्यक्ष प्रदीप जयसवालमाथि अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो ।मुद्दा दर्ता भएको हो ।
गाउँपालिका अध्यक्ष जयसवालले नै थरुनीविरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
थरुनीले कुटपिट गरेको सिसी क्यामेराको फुटेज (भिडियो) लाई प्रमाण बनाएर पेश गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको अध्यक्ष जयसवालको भनाई छ ।
सुरुमा उपाध्यक्ष थरुनीले गाउँपालिका अध्यक्ष जयसवालले अन्य जनप्रतिनिधिसँग मिलेर आफूसँग दुर्व्यवहार गर्दै कुटपिट गरेको आइतबार सञ्चारमाध्यमलाई बताएकी थिइन् । कुटपिटबाट आफू घाइते भएको भन्दै थरुनी उपचार गराउन वीरगञ्जस्थित नारायणी अस्पतालसमेत पुगेकी थिइन् ।
तर, भोलीपल्ट अध्यक्ष जयसवालले उपाध्यक्षद्वारा लगाईएको सबै आरोपहरु निराधार भएको बताउँदै उल्टै आफूमाथि थरुनीले बोत्तल र चप्पलले प्रकार गरेको बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर उक्त घटनाको सिसीटिभी भिडियो आफूसँग रहेको र सोही आधारमा उपाध्यक्षविरुद्ध आफूले प्रहरीमा उजुरी पनि दिने बताएका थिए ।
पर्साका प्रहरीका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालका अनुसार थरुनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको छ । थरुइनी आफै नआएपछि प्रहरी परिचालन गरेर उनलाई पक्राउ गरिने पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले बताए ।