वीरगञ्ज, १८ फाल्गुन । बाराको छुट्टछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाराको कोहल्वी नगरपालिका वडा नम्बर ६ अधन्वामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
मंगलवार साँझ ७ बजेतिर ना.६४ प ७२४ नम्बरको मोटरसाइकलले स्थानीय ८५ वर्षीय भोलिया देवी थरुनीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सूर्य अस्पताल वीरगञ्ज ल्याइएको थियो ।
उपचारको क्रममा राति १० बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताए । ठक्कर दिने मोटरसाइकल चालक कोल्हबी नगरपालिका वडा नम्बर ८ निवासी २५ वर्षीय बरिष्ठ चौधरीलाई वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।
त्यसैगरी मंगलवार बेलुकी नै भएको सवारी दुर्घटनामा १ जना घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरिया टोलस्थित नहर सडक खण्डमा मोटरसाइकल अन्यिन्त्रित हुँदा चालक घाइते भएका हुन् ।
बिआर ०५५ जेट १६५१ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको मोतिहारी ग्राम निरपुर बस्ने २५ वर्षीय सियाराम कुमार लहेराको टाउको र अनुहारमा चोट लागेको प्रहरी चौकी कचोर्वाले जानकारी दिएको छ । घाइते लहेराको सिम्रौनगढस्थित नगर अस्पतालमा उपचार भईरहेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डमा पनि सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ख २०६५ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको प्र.२–०३–००१ ख ४४४४ नम्बरको टिपर एकआपसमा ठोक्किदा दुवै चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुवै सवारी साधनमा क्षति हुनुका साथै दुवै जना चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।