वीरगञ्ज, १७ फागुन । भोजपुरी कलाकार खेसारीलाल यादवमाथि रौतहटमा पुनः ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका ५ पतौरास्थित महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित ‘मधानी महायज्ञ’ मा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो ।khesari
उनले गीत गाएर प्रस्तुती दिने क्रममा ढुङ्गा प्रहार भएपछि गाउँदै गरेको गीत रोकेर उनले सम्झाएका थिए । यादवले भने, ‘एकछिन शान्त भएर बस्न सक्नुहुँदैन ?’ यसअघि सुनसरीको बर्जु गाउँ पालिकामा आयोजित महोत्सवमा पनि उनको सवारी आगजनी गरिएको थियो ।
आफ्नै छोरा जस्तै माया गर्ने दर्शक श्रोताहरुको मायाका कारण आफुले दोस्रो पटक आँट गरेर कार्यक्रममा उपस्थित भएको बताउँदै कलाकार यादवले १÷२ जनाको उच्छृङ्खल गतिविधिका कारण पुरा नेपाल देश नै बदनाम हुन सक्ने बताए ।
उनी भने, ‘पहिलो पटकको त्यति ठूलो घटनापछि पनि म पुनः आएको छु । मलाई माया गर्नुको सट्टा ढुङ्गा÷ईट्टा प्रहार गर्नुहुन्छ ।’ १ दिनमा ५ करोड दर्शक÷श्रोताहरुले युट्युबसहितका विभिन्न माध्यमबाट हेर्ने भएकाले यसले गर्दा तपाई र तपाईको समाज नै खराब हुने यादवको भनाई छ ।
सङ्कुचित मानसिकताका कारण गरिएको व्यावहारका कारण फेरी अर्काे पटक नेपाल आउने बाटो बन्द गर्नुपर्ने अवस्थाको सृजना नगर्न पनि उनले सचेत गराए । आफु मात्रै नभएर दुनियाँका कोही पनि कलाकार नेपाल नआउने उनले बताए ।
उनी थपे, ‘म छोरा भएको नाताले नेपालको धर्तीमा आएको हुँ । म दुश्मन हैन । दुश्मनले मनोरञ्जन गराउँदैन । मायाँ गर्नुहोस्, मायाँ लिनुहोस् ।’ फेरी यस्तो व्यावहार नदोहोरिने आशा गर्दै कलाकार यादवले आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए । यद्यपी उनलाई लक्षित गरेर गरिएको ढुङ्गा प्रहारबाट भने उनी बच्न सफल भएका छन् ।