महोत्तरी, ११ फागुन । महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सिरसिया ग्राम पञ्चायत १४ का ३० बर्षीय दीपक कुमार चौधरीलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।
भारत बीआर ३० एडी ८३४६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका चौधरीलाई मनरासिस्वा नगरपालिका २ कट्टीस्थित नेपाल भारत सीमानाबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका सूचना अधिकारी डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
चौधरीले लगाएको टिसर्ट भित्र कम्मरको भागमा कपडाको थैली भित्र लुकाएर ल्याउँदै गरेको उक्त रकम बरामद भएको र उनलाई रकमसहित आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको जनाएको छ ।