सुनसरी, २२ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका १ लोकहीको खुनिया पुल नजिक ट्रक र बस आपसमा ठक्कर खाँदा दुवै सवारी चालक सहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठक्कर खादा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी बसका चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर यात्रुहरुलाई उद्दार गरेका थिए ।
आगो कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण गरेको थियो । प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । जसका कारया सडक अवरुछ भएका थिए ।