लहान, १४ माघ । सिरहाको लहान नगरपालिका १५ शोभापुरमा रहेको हात्तीदह पर्यटकीय क्षेत्रबाट वन्यजीव दुम्सी चोरी भएको छ ।
बिहीबार राती अज्ञात समूहले बन्दुक प्रहार गरी दुम्सी मारेर लगेको हात्तीदह पर्यटकीय क्षेत्र कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले बताए । दैनिक हजारौँ पर्यटक आउने उक्त क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न समूहले खोर भित्र दुम्सी राखेका थिए ।
प्राकृतिक सौन्दर्यले रमणीय देखिने (५६ हेक्टर) जङ्गल ओगटेको उक्त क्षेत्रमा अजिङ्गर, बटाई, नीलगाई , रातो बाँदर, बेलायती मुसा लगायतका जीव जन्तुलाई संरक्षण गरी समूहले राखेको समूहकी कोषाध्यक्ष गीता चौधरीले बताए ।
उक्त सिमसार क्षेत्रमा करिब ७ सय मिटर लम्बाई र ३० फिट गहिराई भएको विशाल नदी छ , केहीबर्ष अगाडी नदिमा हात्तीहरू बस्ने गरेकोले स्थानीयहरूले सो क्षेत्रलाई हात्तीदह नामाङ्कन गरेको स्थानीय नथुनी चौधरीले जानकारी दिए ।