सिरहा, ११ माघ । समयमै तलवभत्ता नपाएको भन्दै सिरहाको लहान नगरपालिकाका शिक्षकहरू आन्दोलित भएका छन् । चालु ०७८/७९ को साउन पछि अहिले सम्म नगरपालिकाले तलबभत्ता नदिएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
शिक्षकहरुले आज नगरपालिका कार्यालय पुगेर घेराउ गरी धर्ना तथा आन्दोलनका कार्यक्रम गरेका थिए ।laxmi-lugadhune-sabun 3
पशुपति आदर्श मा.वि. लहान , ज.मा.वि. सोनमती गाढा, सरस्वती आ.वि. गाढा, आ.वि. ब्रहम्हान गोर्छारी, आ.वि. चम्पापुर लगायत विद्यालयका करिब १ सय ५० भन्दा बढि शिक्षक, ५९ जना कार्यालय सहयोगी र ५६ जना बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूले तलब नपाएको एक जना प्रधानाध्यापक नारायण प्रसाद साहले बताए ।
नगर क्षेत्रभित्र ६० वटा सामुदायिक विद्यालय रहेकोमा ५ वटा विद्यालयको शिक्षकहरूले तलब नपाउनु लहान नगरपालिकाका नगर प्रमुख मुनी साह सुडीको राजनीतिक प्रतिशोध भएको शिक्षकहरूको आरोप छ ।
लहान नगरपालिकाका जनप्रतिनिधिहरूले मनपरी ढङ्गले नगरपालिकामा सङ्घीय शिक्षा नियमावली र शिक्षा ऐन विपरीत कार्यविधि बनाएको, न्यून तलबमा काम गर्ने बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई सरुवा गरेको, नगर क्षेत्रभित्रका विभिन्न विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारीहरूको राजनीतिक नियुक्ति गरेको लगायतको आरोप लगाउँदै उनीहरूले वर्षौँदेखि आन्दोलन गर्दै आइरहेका छन् ।
यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईले अव तत्काल उक्त समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल बिरामी बिदामा बसेकाले उहाँ आउने वित्तिकै समस्या यथाशीघ्र समाधान हुने साहले जानकारी दिए ।
पालिकाको सहमति बिना शिक्षा विकास तथा समन्वय इकाई सिरहाले केही शिक्षकहरूलाई लहान नगरपालिकाका विद्यालयहरूमा सरुवा गरेको कारण उनीहरूले तलब पाउन नसकेको लहान नगर शिक्षा शाखा प्रमुख अमिरी कुमार यादवले बताइ ।

pk-farnichar