पृथ्वीनारायण शाहलाई देशनिर्माता मात्रै भन्ने वा राष्ट्रनिर्माता पनि भन्ने बहस अब त्यति आवश्यक छैन । पछिल्लो दशकको उत्तरार्द्धतिर आउँदा त्यो अस्पष्ट धर्सो मेटिँदै छ । बदनाम राजतन्त्रविरुद्धको आन्दोलन हुँदा राजतन्त्रलाई सामन्तवादको नाइके भन्ने भाष्यको सिकार पृथ्वीनारायण भए । किनभने उनीबाटै नेपालमा हामीले बुझ्ने राजतन्त्रको सुरुवात भएको हो । त्यस्तै, जातीय संघीयताका पक्षमा आन्दोलन हुँदा पहाडे खस बाहुन वर्गका मात्र राजाका रूपमा उनलाई सीमित गर्ने काम पनि भयो, जबकि उनले देशभित्रका स्थानीय धर्म, भाषा, संस्कृतिको प्रवर्द्धन गरिएका लेखोट छन् । अर्थात्, जातिविशेषप्रति उनमा प्रेम र घृणा कहीँकतै भेटिँदैन । जातीय राज्य आफैंमा विभाजनकारी सोच हो ।

 एकीकरणकर्ता पृथ्वीनारायण शाह एकीकरणकर्ता हुन् वा महत्त्वाकांक्षी शासक भन्ने बहसको त अब सान्दर्भिकता नै सकियो । उनले शासक बन्नकै लागि नेपालको एकीकरण गरेका थिए वा नेपालको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि विदेशीसँग लडेका थिए भन्ने प्रस्टै छ । गोर्खाका राजा छँदै थिए, नुवाकोटसहित वरपरका साना राज्य पनि जितेकै थिए र काठमाडौंमाथि पनि विजय हासिल गरेर राजा बन्न सक्थे । तर त्यसबाट उनी निर्देशित थिएनन्, जसरी पनि बेलायती उपनिवेशलाई नेपाल छिर्न नदिनुमा उनी लागेको देखिन्छ । त्यसका लागि उनी देशभित्र बलियो हुनु आवश्यक थियो, युद्धकौशल र हतियारको व्यवस्था गर्नु अनिवार्य थियो । र, त्यसका लागि बेलायती साम्राज्यका सहयोगी साना राजारजौटालाई पहिला पराजित गर्नु पूर्वसर्त हुन्थ्यो । त्यही गरे । त्यसकारण उनी नेपालका एकीकरणकर्ता नै हुन्, आधुनिक नेपालका निर्माता हुन् ।

भूराजनीतिमा एउटा सिद्धान्त छ, जसलाई अंग्रेजीमा ‘अर्गानिक स्टेट थ्यौरी’ भन्छन्, त्यसको अर्थ हो— कुनै देशलाई बाँच्न भूगोल चाहिन्छ, जसरी मानिसको शरीरलाई बाँच्न आहारा चाहिन्छ । यो सिद्धान्तअन्तर्गत कुनै शासकले जति भूगोल विस्तार गर्‍यो, ऊ त्यति ठूलो शासक कहलिन्छ । जर्मनीका तानाशाह हिटलरको राज्यविस्तारको सोच यही सिद्धान्तबाट प्रभावित थियो । पृथ्वीनारायण शाहको नेपाल विस्तारको मिसनलाई ठूलो भूगोलको राजा बन्ने उद्देश्यबाट निर्देशित ठानियो भने गलत हुन्छ । उनले एकीकरण अभियान विदेशी भूगोललाई आफ्नो बनाउन नभई देशभित्रकै बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्न चलाएका थिए ।

इतिहासविद् बाबुराम आचार्यले एकीकरणबारे लेखेको यो वाक्य (हेर्नुहोस्, ‘एनेक्ससन अफ मल्ल किङडम’) स्मरण गर्नु सान्दर्भिक हुन्छ, ‘पृथ्वीनारायणको साम्राज्यको आकांक्षा थिएन । उनको एक मात्र उद्देश्य नेपालको एकीकरण गर्नु थियो । विजय हासिल गरेपछि काठमाडौंलाई पराजितको व्यवहार गरेनन् भने त्यसको अनावश्यक दोहन पनि गरेनन् । सहृदयी व्यवहारबाट काठमाडौंका जनतालाई आश्वस्त पारे, कान्तिपुरलाई राजधानी बनाए ।’

ऐतिहासिक कडी

पृथ्वीनारायण शाहको योगदान उजिल्याउने थुप्रै सारवस्तु छन् र ती कृतिका स्वरूपमा पनि सार्वजनिक भएका छन् । आफ्नो मिसन असफल भएपछि बेलायती र तिनका मतियार विदेशीले उनलाई त्रासद र निर्दयी शासकका रूपमा प्रस्तुत गरेका पनि छन् । तर त्यति गर्दा पनि नेपालको एकीकरण उनैले गरेको स्वीकार पनि गरेका छन् । अब एउटा तथ्य हेरौं, जो उनको नेपाल एकीकरणको ऐतिहासिक कडी बन्यो । त्यो सिन्धुलीगढीको युद्ध हो । यसलाई विभिन्न कोणबाट विश्लेषण गर्दा तथ्यपरक निष्कर्षमा पुगिन्छ । सिन्धुलीगढीको युद्धमा बेलायतीलाई जब उनले पराजित गरेर पछि फर्कन बाध्य पारे, त्यहाँबाट बेलायती सेना नेपाल छिर्ने प्रयासको अन्त्य भयो ।

६ नोभेम्बर १७६७ मा बेलायती क्याप्टेन किनलक नेतृत्वको ब्रिटिस इस्ट इन्डिया कम्पनीले सिन्धुलीगढीमा गोर्खाली सेनालाई पराजित गरेको भए के हुन्थ्यो ? सिन्धुलीगढीको युद्धमा एकातिर गोर्खाली राजा थिए भने अर्कातिर कप्तान किनलक र जयप्रकाश मल्ल । शाह राजाले मल्ल राजाहरूलाई पराजित गरी नुवाकोट लिएका थिए, यो देशभित्रकै राजासँगको लडाइँ थियो । तर सिन्धुलीगढीको युद्ध गोर्खाली सेनाको कुनै विदेशी शक्तिसँगको पहिलो युद्ध थियो । त्यसैले नेपालको एकीकरण अभियानमा यो युद्धको विशेष महत्त्व छ । पृथ्वीनारायणले यो युद्धमा किनलकको टोलीलाई पराजित गरेपछि नै एकताको आधार तय भएको हो । दक्षिण एसियामा राज गरिरहेको ब्रिटिस इस्ट इन्डिया कम्पनी गोर्खाली सेनासँग पराजित हुनु आफैंमा बेलायती उपनिवेशमाथिको परोक्ष प्रहार थियो ।

नेपालको कोणबाट हेरौं । पृथ्वीनारायण शाहले यो युद्ध जितेर बेलायती सेनालाई काठमाडौं प्रवेश गर्नबाटै निषेध गरे । गोर्खाली राजाको बढ्दो शक्ति देखर अतालिएका काठमाडौंका मल्ल राजाहरूले बेलायती सरकारसँग सहयोग मागेका थिए र उनीहरू सहयोगका लागि काठमाडौं आउँदै थिए । यदि उक्त युद्धमा बेलायती सेनाले जितेको भए नेपालको एकीकरण अभियानमा पूर्णविराम लाग्न सक्थ्यो वा गोर्खाली एकीकरण अधुरो छाडेर सम्झौतामा टुंग्याउनुपर्ने हुन सक्थ्यो । त्यसो हुँदा नेपाल अस्तित्वमा रहन्थ्यो वा रहने थिएन, भन्न सकिँदैन ।

दोस्रो, बेलायतीहरूले तिब्बतसँगको व्यापारिक मार्गका रूपमा नेपाललाई प्रयोग गरिरहेका थिए, काठमाडौंबाट नुवाकोट हुँदै केरुङसम्मलाई । खासमा यो व्यापारिक नाकाका रूपमा मात्र प्रयोग भइरहेको थिएन, व्यापारका नाममा प्रवेश गरेपछि आफ्नो साम्राज्य विस्तार गर्दै नेपाललाई पनि उपनिवेश बनाउन सकिन्छ भन्ने चाहनाबाट निर्देशित थियो । व्यापारका लागि आएका बेलायतीले भारतमाथि नै शासन गरेको उदाहरण सामुन्ने थियो । शासन गर्ने मात्रै महत्त्वाकांक्षा भएको भए उनले बेलायतीसँग सम्झौता गर्न सक्थे तर बेलायतीसँग सम्पर्कमा रहनुभन्दा अलग रहनुमा नेपालको हित देखे र त्यही गरे । ‘दिव्य उपदेश’ मा ब्रिटिस भारतीय शासक र चिनियाँ शासकप्रतिको एक किसिमको दृष्टिकोण राख्नु र त्यसमा सचेतनापूर्वकको सन्तुलनमा जोड दिनुबाट उनमा आफ्नो सामर्थ्यमा पूर्ण विश्वास रहेको देखिन्छ । साम्राज्य विस्तार गर्न चाहनेले आक्रमण गर्छ । उनले आक्रमण नगर्ने तर गर्नेको प्रतिकार गर्ने बताउनुले उनको अभियानको गन्तव्य थाहा हुन्छ ।

तेस्रो, आत्मनिर्भरता र स्वराजको सोच । उनले विदेशी उत्पादनलाई नेपाली बजारमा बिक्री–वितरण गर्न रोके र स्वदेशी उत्पादनलाई प्रोत्साहित मात्र गरेनन्, बजार व्यवस्थाको प्रबन्धसमेत गरे । नेपालभित्रै विभिन्न समुदायद्वारा उत्पादित वस्तुको व्यापारलाई प्रश्रय दिए । नेपाली सामानले बजार पाए, नेपाली पैसा पनि बाहिर जानबाट रोकियो । विदेशी आयातमा भर पर्नु भनेको अन्ततः तत्कालीन ब्रिटिस साम्राज्यलाई नेपाल प्रवेशको गोरेटो निर्माण गर्नु थियो, जसमा उनले सुरुमै रोक लगाए । बेलायती नेपाल छिरेमा व्यापार मात्र गर्दैनन्, क्रिस्चियन धर्मको प्रचारप्रसार गर्छन् भन्ने उनलाई लाग्यो ।

उनले युरोपेली र विदेशीहरूलाई काठमाडौंमा एक किसिमले प्रतिबन्ध नै लगाए । उनले मुस्लिम व्यापारीलाई पनि व्यापारमा निरुत्साहित गरे । त्यसले एकातिर एकता अभियानलाई विशुद्ध घरेलु शक्ति विस्तार र राज्य संरक्षणको अभियानका रूपमा विकास गर्‍यो भने, अर्कातिर नेपालीहरूलाई आत्मनिर्भर र स्वावलम्बी बनायो ।

बेलायती कोणबाट हेर्दा, पृथ्यीनारायण शाहको उदयबाट उनीहरूको दीर्घकालीन योजनामा विश्राम लाग्यो । किनलकको पराजयबाट उनीहरूमा ठूलै पीडा पर्‍यो । उनीहरू काठमाडौं, नुवाकोट हुँदै तिब्बतसम्म व्यापार विस्तार गर्न चाहन्थे, जुन असफल भयो । त्यसैले उनीहरूले पृथ्वीनारायण शाहलाई ‘निर्दयी, दमनकारी र रक्तपातपूर्ण हत्याबाट सृजित शासक’ का रूपमा चित्रण गर्छन् । भुरेटाकुरे राज्यहरूलाई समेटेर सिंगो एउटा देश बनाउँदा हिंसा–हत्या हुन्छ । राष्ट्रनिर्माणको प्रक्रियामा विश्वको इतिहास नै यसको साक्षी छ । त्यहाँ दमन पनि हुन्छ । एउटा व्यवस्था फाल्ने उद्देश्यले माओवादीले गरेको हिंसामा १७ हजार नागरिक मारिन्छन् भने, देशको भूगोललाई एकीकृत गर्ने र राष्ट्रनिर्माण गर्दा क्षति हुन्छ नै ।

निर्माणका आधार

आजको मूल मुद्दा अब पृथ्वीनारायण शाहलाई कसरी बुझ्ने भन्ने होइन, नेपाललाई कसरी छिमेकीसँग सन्तुलन कायम गर्दै विकसित राष्ट्र बनाउने भन्ने हो । इतिहासको सही अध्ययन र त्यसलाई न्याय गर्ने हो तर त्यसैलाई विवादित बनाएर विदेशी भाष्यको भरिया बन्ने होइन । विकसित भूराजनीतिक भुमरीमा नेपाली सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि कस्तो नीति बनाउने भन्ने हो । पृथ्वीनारायणले त्यस बेला जसरी नेपालका छिमेकीलाई परिभाषित गरे र सचेतनापूर्वक सम्बन्ध कायम गर्ने सोच राखे, त्यसमा तात्त्विक परिवर्तन आयो कि आएन ? अहिले भारतमा बेलायती राज छैन, तिब्बत चीनको एउटा स्वशासित क्षेत्र भएको छ । चीन महाशक्ति–उन्मुख छ, भारत एसियाली शक्ति भएको छ । त्यस बेला बेलायती साम्राज्य र चिनियाँ राज्यबीच राजनीतिक र व्यापारिक सम्बन्ध थिएन, आज अवस्था अर्कै छ । विवाद छ तर त्यसबाहिर व्यापारमा सहकार्य पनि छ । नेपालमा राजतन्त्र पनि छैन र नेपाल संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र भएको छ । अपरिवर्तनशील भूगोल मात्र हो र स्थायी राष्ट्रिय स्वार्थ मात्र हो, तर त्यही भूगोलभित्र नाटकीय परिवर्तन भएको छ । राष्ट्रिय स्वार्थमाथि छिमेकी र विदेशी शक्तिद्वारा विभिन्न रूपमा आक्रमण भएका संकेत देखिँदै छन् ।laxmi-lugadhune-sabun 2

जब नेपालको साझा राष्ट्रिय स्वार्थ पहिचान गर्नसम्म राजनीतिक दलहरू असफल भएका छन्, त्यसको संरक्षण कसरी गर्न सक्छन् ? जब विकासका प्राथमिकता र विदेशी लगानीमा सत्तारूढ दलभित्रै सहमति छैन, कसरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्देश्य प्राप्त हुन्छ ? छिमेकी र मित्रराष्ट्रलाई घरेलु राजनीतिक मुद्दामा हस्तक्षेप गर्न निषेध गर्ने हो तर विकासका लागि लगानीमा आमन्त्रित गर्ने हो । अर्थतन्त्र संकटउन्मुख भएको सूचकले देखाउँछन् । स्वार्थबिना कसैले आर्थिक सहायता र अनुदान दिँदैन तर त्यसमा पारस्परिक हित खोज्ने हो । भारतको ‘छिमेक पहिला’ देखि ‘एक्ट इस्ट’ नीतिसम्म, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका सहयोग र अनुदानमा उनीहरूका स्वार्थ छन् तर त्यहीँभित्र नेपालले आफ्नो लाभ हेर्ने हो । क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड) देखि ओकस सम्झौतासम्म आउँदा अमेरिकी स्वार्थ हिन्द–प्रशान्त क्षेत्रमाथि नियन्त्रण हो । महाशक्तिका यी रणनीतिक र सामरिक कार्यक्रममाथि नै नेपालका उत्तर र दक्षिण शक्ति विभाजित छन् । त्यसको प्रभाव नेपालमा पर्छ नै । अमेरिकाको बिल्ड ब्याक बेटर (बीथ्री) देखि युरोपेली संघको ‘ग्लोबल गेटवे’ सम्मका रणनीतिक कार्यक्रम आएका छन् ।

राष्ट्रिय सहमतिका साथ देशलाई भावनात्मक रूपमा एकीकृत गरेर विदेश सम्बन्ध र राष्ट्रिय स्वार्थमा साझा सोच बनाउँदै अघि बढ्नुपर्ने बेला सत्तारूढको पहिलो प्राथमिकता नै सत्ता बचाउने र प्रतिपक्षमाथि एकोहोरो हमला गर्ने भएको छ । राजनीतिमा आन्तरिक बाझाबाझ चुनावसम्म जनताले सहन सक्छन् तर विकासमा राजनीति हुँदा देश नबन्ने भयो । पृथ्वीनारायण शाहले त्यस बेला लिएका कूटनीतिक सन्तुलन, आत्मनिर्भरता, मौलिक संस्कृतिको जगेर्ना, स्वदेशी पुँजी र व्यापारको प्रवर्द्धनजस्ता नीति आज पनि उत्तिकै सान्दर्भिक छन् । समाजवाद–उन्मुख अर्थतन्त्रका आधार यहीँभित्र छन् । उनले भूगोल दिए र नेपाली पहिचान दिए, देश र नेपाल बनाउने वर्तमान नेतृत्वले हो ।                                         - कान्तिपुरबाट ।

pk-farnichar