सप्तरी, १० पुस । खाद्य पदार्थमा हुने मिसावट र कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमनमा सहयोग गर्ने सप्तरीका जनप्रतिनिधि र सरोकारबालाहरुले प्रतिबद्धता जनाएका छन् ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको खाद्य स्वच्छता र गुणस्तर सम्बन्धित जनप्रतिनिधि र सरोकारबालासँगको अन्तरिक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारबालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
खाद्य पदार्थमा मिसावट हुने क्रम बढ्ेको र बढ्दो कालोबजारीका कारण आम उपभोक्ताहरु मारमा परेको बताउँदै जनप्रतिनिधिहरुले तत्काल बजार अनुगमनका ठोस कार्यक्रम बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर्शन सिंह, वडा नम्बर ४ का वडाअध्यक्ष अख्तर अली बाबा, वडा नम्बर ६ का वडा अध्यक्ष मागन नाई, वडा नम्बर ७ का वडाअध्यक्ष प्रेम यादव र वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल लगायतले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न हुने बजार अनुगमनमा सहयोग गर्नुको साथै वडा स्तरीय योजनामा बजार अनुगमनको कार्यक्रम समेत बनाउने प्रतिबद्धता जनाए ।
सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार साह, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रकाश देवकोटा, राष्ट्रिय उपभोक्ता मञ्चका राजकुमार गुप्ता, न्यायिक नागरिक उपभोक्ता मञ्चका रामकुमार यादव, उद्योग बाणिज्य संघका ललित झा, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा लगायतले खाद्य पदार्थमा हुने मिसावट र कालोबजारी नियन्त्रणका लागि नियमित बजार अनुगमनमा जोड दिदै त्यसमा सहयोग गर्ने बताए ।
कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश कुमार सिंहले खाध्य ऐन २०२३ र नियमावली २०२७ मा भएका मुख्य प्राबधानहरु र खाद्य उत्पादनमा लेबलिङ्ग र प्याकजिङ्ग सम्बन्धि व्यवस्था सम्बन्धि २ वटा कार्यपत्र प्रस्तुत गरे ।