- प्रेमनारायण भुसाल
एक्काइसौँ शताब्दीलाई सूचना तथा सञ्चारको युग मानिन्छ । शिक्षा, स्वास्थ्य, उद्योग–वाणिज्य, वैज्ञानिक अनुसन्धान, युद्ध तथा भूगोल र अन्तरिक्षसम्बन्धी अन्वेषणमा सूचना तथा सञ्चार–प्रविधि, कम्प्युटर र इन्टरनेटको अत्यधिक प्रयोग हुने गर्छ । सूचना र प्रविधिको विकासले संसारलाई वास्तवमै साँघुरो बनाएको छ । व्यक्तिका दैनिक जीवनका सामान्य क्रियाकलापदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अति संवेदनशील र महìवपूर्ण कार्यसमेत सूचना प्रविधिका माध्यमबाट सम्पन्न हुन थालेका छन् । इन्टरनेटका माध्यमबाट अध्ययन अध्यापन क्रियाकलाप, औषधोपचार, विभिन्न तालिम, गोष्ठी, अनुसन्धान प्रतिवेदनहरूको प्रस्तुति र बैङ्किङ गतिविधिमार्फत ठूला–ठूला आर्थिक क्रियाकलाप सञ्चालन हुन थालेका छन् ।
अति महìवपूर्ण र संवेदनशील काम इन्टरनेटको माध्यमबाट हुन थालेपछि यससित सम्बन्धित आपराधिक क्रियाकलापसमेत बढ्न थालेका छन् । विगतमा भएका र हुने गरेका भौतिक आक्रमणभन्दा अझ भयानक आक्रमण साइबरका माध्यमबाट हुनसक्ने भएकाले सम्पन्न र सामरिक महìव राख्ने राष्ट्रहरूले साइबर सुरक्षामा ठूलो धनराशि खर्च गरिरहेका छन् ।
पछिल्लो दुई दशकमा नेपाललगायतका मुलुकमा पनि सञ्चारका क्षेत्रमा उल्लेखनीय विकास भएको छ । इन्टरनेटको सञ्जालमा आबद्ध कम्प्युटर तथा मोबाइल फोनका माध्यमबाट समेत सूचनाको आदानप्रदान, सामाजिक सञ्जालको सञ्चालन तथा आर्थिक गतिविधि चल्न थालेका छन् । विश्वको एक कुनाबाट जुनसुकै स्थानका कम्प्युटर तथा कम्प्युटरसम्बन्धी सामग्रीमा पहुँच स्थापित गर्न सकिने भएकाले प्रविधिको विकास र प्रयोगका साथै यसबाट हुनसक्ने दुर्घटना र जोखिमको मात्रा दिनानुदिन बढ्दै गएको छ । आवश्यक सुरक्षा सावधानी तथा जनचेतनाको अभावले पनि धेरै मानिस साइबर अपराध गर्ने तथा पीडित हुने अवस्थामा पुगेको देखिन्छ ।
के हो साइबर क्राइम ?
इन्टरनेट र कम्प्युटरको दुरुपयोग गरी अनधिकृत स्रोतमा पहुँच र क्षति पु-याउने तथा कसैको मानप्रतिष्ठा र इज्जतमा आँच पुग्ने काम गर्नुलाई साइबरसम्बन्धी अपराध भनिन्छ । साइबर क्राइमलाई विद्युतीय अपराध र प्रविधिसम्बन्धी कसुर पनि भनिन्छ । कम्प्युटरजन्य विद्युतीय उपकरण प्रयोग गरेर वा यस्ता उपकरणलाई लक्षित गरेर व्यक्तिगत फाइदाका लागि गरिने सबै क्रियाकलापलाई साइबर क्राइमअन्तर्गत राख्ने गरिन्छ ।
कम्प्युटर र इन्टरनेटको दुरुपयोग गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा व्यक्तिको मानमर्यादामा आँच पु¥याउने तथा शारीरिक र मानसिक क्षति पु¥याउने सबै किसिमका काम साइबर अपराधअन्तर्गत पर्छन् । साइबर जगत्मा विश्वभरका डाटा÷विवरण रहेका हुन्छन् । प्रविधिको दुरुपयोग गरी डाटा र स्रोत ह्याक गर्ने आतङ्कवादी र असामाजिक गतिविधि सञ्चालन गर्ने, व्यक्ति र समाजलाई घात गर्नेजस्ता काम सङ्गठित रूपमा समेत हुने गरेका छन् ।
किन हुने गर्छन् साइबर क्राइम ?
संसारका हरेक आर्थिक, सामरिक, बौद्धिक र वैज्ञानिक क्रियाकलाप कुनै न कुनै रूपमा सञ्चार प्रविधिसँग गाँसिएका छन् । विगतमा एक देशले अर्को देशमाथि गर्ने गरेका भौतिक आक्रमणभन्दा सम्बन्धित राष्ट्रका सूचना प्रविधि र योजना चोरेर वा नष्ट गरेर ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहन्छ । अमेरिका, रुस, चीन, इरान र उत्तर कोरियाजस्ता राष्ट्रमा हरेक क्षण साइबर आक्रमण हुनसक्ने सम्भावनाको आकलन गरी साइबर सुरक्षालाई निकै सबलीकरण गरिएको छ ।
राष्ट्रका विरुद्ध, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाका विरुद्ध वा व्यक्तिका विरुद्ध अफवाह फैलाउन, आर्थिक, नैतिक र सामाजिक क्षति पु-याउन ह्याकरहरूले सङ्गठित रूपमै साइबर आक्रमण गर्ने गरेको पाइन्छ । बैङ्क तथा वित्तीय संस्थाका कार्डहरूको दुरुपयोग गरी वित्तीय अपराध गर्ने, अवैध रूपमा मुद्राको कारोबार गर्ने सिस्टम ह्याक गरेर रकम चोर्नेजस्ता गतिविधि वित्तीय अपराधअन्तर्गत पर्छन् भने कम्प्युटरमा इन्टरनेटको प्रयोग गरी अश्लील तथा यौनजन्य सामग्रीको उत्पादन, निर्माण, सम्पादन र सम्प्रेषण गरी बेइज्जती र ब्ल्याकमेलिङ गर्ने उद्देश्यले समेत साइबर आक्रमण हुने गरेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको इज्जत प्रतिष्ठामा आघात पु-याउने वा विद्युतीय हस्ताक्षरको दुरुपयोग गरी साइबर किर्ते, साइबर फिसिङ र साइबर बुलिङसमेत गर्ने गरेको पाइन्छ । यसरी व्यक्तिको सम्पत्ति र राज्य तथा समाजका विरुद्ध कम्प्युटर र इन्टरनेटको प्रयोग गरी नाजायज फाइदा लिन र क्षति पु-याउन साइबर अपराधहरू हुने गर्छन् ।
कस्तो छ नेपालको अवस्था
नेपाल दूरसञ्चार प्राधिकरणले हालसालै प्रकाशित गरेको विवरणअनुसार ९१ प्रतिशत नेपालीको इन्टरनेटमा पहुँच देखिन्छ । ६५ दशमलव ६८ प्रतिशत उपभोक्ताले मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन् । एकैजना व्यक्तिले एकभन्दा बढी फरक–फरक सिमबाट इन्टरनेट चलाउन सक्ने भएकाले प्राधिकरणको उपयुक्त डाटाले सही तथ्याङ्कलाई प्रतिविम्बित नगरे पनि पछिल्लो दशकमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिको सङ्ख्या निकै बढेको छ । ग्रामीण क्षेत्रमा समेत मोबाइलका माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गर्ने युवायुवतीको सङ्ख्या धेरै देखिन्छ । इन्टरनेटमा पहुँच पुगेसँगै यससित सम्बन्धित अपराधको सङ्ख्या पनि बढ्दै गएको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा साइबरसम्बन्धी अपराधबाट १८ वर्षमुनिका १५२ महिला र ५६ पुरुष गरी दुई सय आठजना तथा १८ वर्षमाथिका दुई हजार तीनजना महिला र एक हजार ४ सय ७१ पुरुष तथा २ सय २४ अन्य गरी जम्मा ३९०६ जना व्यक्ति पीडित भएका छन् । प्रहरीकहाँ दर्ता गरिएका घटनामध्ये तीन हजार चार सय ५१ वटा अपराधमा फेसबुक र म्यासेन्जरको प्रयोग गरिएको छ भने युट्युबका माध्यमबाट ५६ वटा भाइबर प्रयोग गरी ४ ओटा आईएमओका माध्यमबाट १७ ओटा अपराध भएका छन् । ह्वाट्सएप प्रयोग गरी ४७, ट्विटरका १५, इन्स्टाग्रामका ५६, टिकटकका ७०, इमेलका २९, वेबसाइट ह्याकिङका २८ र अन्य २९ कसुरजन्य घटनाका उजुरी दर्ता भएका छन् ।
सबैभन्दा बढी सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरबाट घटाइएका कसुर भेटिनुका पछाडि व्यक्तिगत क्षणिक आवेश तथा साइबर चेतनाको अभाव प्रमुख कारण देखिन्छ । साइबर अपराधसम्बन्धी घटनामा विद्युतीय कारोबार ऐन, बालबालिकासम्बन्धी कानुन, प्रतिलिपि ऐन, व्यक्तिगत गोपनीयतासम्बन्धी ऐन र मुलुकी अपराध संहितासमेत आकर्षित हुने गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी अभियोजन गर्ने साइबरसम्बन्धी मुद्दा हेर्नका लागि नेपालभर एकमात्र काठमाडौँ जिल्ला अदालतलाई अधिकार दिइएको छ । साइबर अपराधलाई नियन्त्रण गर्न सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सहमति जुट्नुको सट्टा विभिन्न किसिमका आलोचना र विरोधका कारण प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन । जसका कारण साइबरसम्बन्धी कसुर नियन्त्रण र नियमनका लागि प्रयोग हुँदै आएको १५ वर्ष पुरानो ‘विद्युतीय कारोबार ऐन २०६३’ आफैँमा पर्याप्त र सशक्त हुन सकेको छैन ।
कसरी बच्ने ?
साइबरसम्बन्धी अपराधबाट बच्न आफ्नो कम्प्युटर तथा इन्टरनेटको पासवर्ड कसैसँग पनि साझा नगर्ने, सुरक्षित किसिमले मात्र विद्युतीय हस्ताक्षर डेविड तथा क्रेडिट कार्डहरूको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो यात्रा विवरण, आगामी दिनका कार्ययोजना, पारिवारिक र आर्थिक स्थिति खुल्ने किसिमका विवरण सामाजिक सञ्जालमा राख्ने कसैकसैको बानी हुन्छ । आपराधिक मानसिकता भएका व्यक्तिका लागि ती सूचना साइबर हमलाका हतियार बन्न सक्छन् । आफ्ना बारेमा सामाजिक सञ्जालमा धेरै सूचना नदिनु नै राम्रो हुन्छ ।
व्यक्तिगत घटना र आर्थिक कुराहरू अपरिचित व्यक्तिसँग साझा नगर्ने तथा सामाजिक सञ्जालको प्रयोग गर्दा अरूको व्यक्तिगत प्रतिष्ठा जोडिएका विषयमा टीकाटिप्पणी, आलोचना, लाइक र सेयरसमेत गर्नुहुँदैन । सामाजिक सञ्जालका स्टाटस सेयर गरेकै कारण कैयौँ व्यक्ति अनावश्यक झमेलामा परेका पनि छन् । क्षणिक आवेशलाई सामाजिक सञ्जालका माध्यमबाट व्यक्त गर्दासमेत साइबरसम्बन्धी धेरै अपराध हुने गरेका छन् । यसैले आफू र आफ्ना बालबालिकालाई इन्टरनेट र सामाजिक सञ्जालका बारेमा सचेत राखी आफूबाट हुन सक्ने तथा आफूमाथि हुनसक्ने साइबर अपराधबाट सुरक्षित रहन सकिन्छ । नेपाल प्रहरी, स्थानीय निकाय, सार्वजनिक सञ्चारका माध्यम तथा बौद्धिक समुदायले साइबर चेतनासम्बन्धी कार्यक्रमलाई महìवका साथ प्रोत्साहन गर्नाले पनि यससम्बन्धी अपराध न्यूनीकरणमा सहयोग पुग्छ । -गोरखापत्र अनलाईनबाट ।