राजविराज, १५ मंसिर । सप्तरीका डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले उचित ज्याला पाउन नसकेको गुनासो गरेका छन् भने रोजगारदाताहरुले कृषिमा लगानी अनुरुपको प्रतिफल आउन नसकिरहेकाले मजदुरहरुलाई उचित ज्याला दिन नसकेको स्वीकारेका छन् ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सदस्य चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिबनारायण साह, उपप्रमुख इन्दुकुमारी यादव, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड) का उपाध्यक्ष गायत्री पंडित, सचिव गणेश कुमार चौधरी लगायतले श्रम ऐन लागु भएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेकाले हरवा चरवा तथा श्रमिकहरुले अझै उचित ज्याला पाउन सक्ने अवस्था नरहेकोे बताए ।
कार्यक्रममा रोजगारदाताहरु सुर्यनारायण साह, सुरेश यादव, कामेश्वर यादव लगायतले खेती गर्न लगानी धेरै लाग्ने तर उत्पादन थोरै हुने गरेकाले चाहेरपनि कृषि मजदुरहरुलाई सरकारले निर्धारण गरे अनुसारको पारिश्रमिक दिन नसकिरहेको बताए ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाद्वारा सञ्चालित कार्यक्रममा कार्यक्रम संयोजक शारदा चौधरीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।