साङ्केतिक फोटो ।
चितवन, १५ मंसिर । अख्तियार दुरुप अनुसन्धान आयोगले चितवनबाट सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । आयोग कार्यालय काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
मालपोत अधिकृत र अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएको बताइएको छ । करीब एक विगहा १८ कट्ठा जग्गा आफ्नै बाबुको नामबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।
जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस माँगेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।
प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।
यस्तै अमिन कठायतका साथबाट तीन लाख ५० हजारको चेक र नगद एक लाख ५० हजार रुपैया बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।