सिरहा, ८ मंसिर । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कण्डेलले दलित तथा महिलाहरुको विषयमा सम्वेदनशिल हुन मातहतका कार्यालय तथा कर्मचारीहरुलाई तुरुन्त निर्देशन दिने प्रतिवद्धता जनाएका छन् । ‘लैङ्गिक हिांसा र जातिय विभेद तथा छुवाछुत न्यूनिकरणका लागि कानून कार्यान्वयन गर्ने निकायको भूमिका’ विषयक सम्वाद कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कण्डेलले कार्यालय प्रमुखहरुको बैठक बोलाई दलित तथा महिलाका विषयमा सम्वदनशिल भएर काम गर्न निर्देशन दिने बताएका हुन् ।
उनले आफू अहिलेपनि विपन्न, दलित तथा महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जनाए । उनलेभने, ‘अहिले पनि म शिविरहरु मार्फत दलित विपन्नहरुको गाउँ टोलमै पुगेर सेवा दिने गरिरहेको छु, आउँदा दिनहरुमा पनि म गरिरहन्छु, आजैको दिनबाट मातहतका कार्यालय र प्रमुखहरुलाई पनि निर्देशन गर्छु ।’
उनले आजपनि दलित तथा महिलामाथि विभिन्न खालका हिंसा हुनेगरेको स्वीकार गरे । उनले कतिपय अवस्थामा घरभित्रैबाट महिलाहरु पीडित हुने गरेको समेत बताए । प्रमुख जिल्ला अधिकारी कण्डेलले सवैखालका हिंसा तथा छुवाछुत न्यूनिकरणको लागि कानून कार्यान्वयन आवश्यक रहेको जनाए ।
कार्यक्रममा सहभागीहरुले आजपनि दलितहरुले छुवाछुतको समस्या भोग्नु परेको जनाए । दहेज, बालीका विवाहजस्ता समस्या अझै कायम रहेको उनीहरुले जनाए ।
समता फउण्डेशनको आयोजनामा सम्पन्न सम्वाद कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रसाशकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।