सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) जिल्ला अध्यक्ष तथा प्रदेश २ का सांसद् रामकुमार यादवले आफ्नो संसदखिय विकासकोषबाट किसान नेता जयगोविन्द साहको नाममा स्थापित गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निक इन्स्टिच्युटलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
इन्स्टिच्युटद्वारा मंगलबार गोलबजारमा आयोजित नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रदेश सांसद् यादवले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मध्ये १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
इन्स्टिच्युटमा संचालित तीन÷तीन वर्षे कृषि बाली विज्ञान, सिभिल इञ्जिनियरिङ् र जियोमेट्रिक्स इञ्जिनियरिङ् विषयलाई आवश्यक पर्ने प्रयोगात्मक अभ्यासका लागि उपकरण खरिद र व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने सांसद् यादवले बताए ।
नगरपालिकाको आर्थिक सहयोग र विद्यार्थीमा निर्भर इन्स्टिच्युट पछिल्लो दुई वर्षदेखि संचालनमा रहेको छ ।
व्यक्तिको घर भाडामा लिएर कक्षा संचालन गरिरहेको इन्स्टिच्युटको कक्षाकोठा, प्रशासनिक भवन, छात्राबास, आवास, खेलकूद मैदान निर्माणका लागि गोलबजार ६ स्थित करिब १२ बिघा जग्गा प्राप्तिको सबै प्रकृया पूरा गरी भूमिसुधार मन्त्रालयमा पठाइएको पूर्व मन्त्री तथा माओवादी केन्द्र प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहले बताए । उनले त्यसका लागि करिब सवा अर्बको डिपिआर समेत बनाएर दाताको खोजी भईरहेको सहइञ्चार्ज साहले बताए । उनलेभने, ‘इन्स्टिच्युटको नाममा विधिवत रुपमा जग्गा आएपछि सबै प्रकृया अगाडि बढ्छ ।’
नगरको आर्थिक सहयोगमा प्राविधिक शिक्षालाई बिस्तार गर्ने योजना अनुरुप इन्स्टिच्युट संचालन गरिएको भएपनि त्यसको नियमित संचालन, रेखदेख र व्यवस्थापनमा स्थानीय नागरिकको पनि सहभागिता रहनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गोलजबारस्थित रामप्रसाद रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोर साहले मानव विकास सूचकांकमा धेरै पछाडि रहेको यो क्षेत्रको विकासका लागि शिक्षामा लगानी बढाउनु पर्ने खाँचो औंल्याए । ‘मावन विकास सूचकांकको सूचीमा माथि उक्लिन साक्षरता, प्रतिव्यक्ति आय तथा औसत आयु बढ्नु पर्छ’ क्याम्पस प्रमुख साहले भने ‘त्यसका लागि भौतिक पूर्वाधारको विकास गरेर मात्र हुँदैन, शिक्षामा लगानी नै बढाउनु पर्छ ।’
गोलबजार नगरपालिकाकी उपप्रमुख रेशमकुमारी थापाले इन्स्टिच्युटलाई पछिल्लो वर्षदेखि नगरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको भएपनि पर्याप्त नरहेको स्वीकारिन् । ‘नगर क्षेत्रमा अन्य विकास निर्माणका काम पनि गर्नु पर्ने भएकाले पर्याप्त रकम दिन सकेनौं तर दीगो विकास र स्थायित्वका लागि नगरले ध्यान दिएको छ’ उनले भनिन् । नगर शिक्षा शाखा प्रमुख अनन्त पौडेलले कृषि उत्पादनमा निर्भर रहेको गोलबजार क्षेत्रमा कृषिको आधुनिकीकरण र उत्पादनको प्रशोधन गरी बजारीकरण गर्ने प्राविधिक शिक्षाका लागि नगरको आवधिक योजनामै प्राविधिक शिक्षा सम्बन्धी रणनीतिक योजना बनाइनु पर्ने औंल्याए ।
कार्यक्रममा इन्स्टिच्युट संचालक समिति अध्यक्ष समेत रहेका शिक्षाविद् नन्दकुमार थापाले इन्स्टिच्युटको वर्तमान शैक्षिक अवस्था, आगामी लक्ष्य लगायतका विषयमा प्रष्ट्याउनु भएको थियो ।