वीरगञ्ज, ३ मंसिर । बहुदरमाई नगरपालिका ८ रमनगरीस्थित श्री देवनन्दन देवराज नमुना माद्यामिक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक र वडाअध्यक्षलाई कार्यालयभित्रै थुनेका छन् । बाल शिक्षा देखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा जम्मा ८ जना शिक्षक भएको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव र वडा नम्बर ८ का वडाअध्यक्ष पुनिलाल साहलाई थुनेका हुन् ।
भएका शिक्षकको पनि सरुवा गराउने तर शिक्षक नथप्ने भन्दै विद्यार्थीहरुले ‘वडाअध्यक्ष मुर्दावाद, हेडसर मुर्दावाद, मेयर नितेत्द्र मुर्दावाद, शिक्षक सरुवा रोक्का गर’ लगायताका नारा लगाइरहेका छन् । शिक्षक अभावका कारण पठनपाठन समेत प्रभावित भइरहेको कक्षा १२ मा अध्ययनरत छात्र निरन्जन पटेलले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेतिसँग शिक्षक परिपुर्तीको मागगर्दा हामीसँग समय छैन, तिमीहरु जे गर्छाै गर भन्ने जवाफ दिएको कक्षा ११ मा अध्ययनरत छात्रा ललिता यादवले बताईन् । कक्षा १० मुन्ना कुमार राम, कक्षा १० का सन्दिप साहसहित बालविकासदेखि कक्षा १२ का विद्यार्थीहरुले विद्यालयमा शिक्षकको परिपुर्ती गर्ने प्रतिबद्धता नजनाएसम्म प्रधानाध्यापक र वडाअध्यक्षलाई नछोड्ने चेतावनीदिएका छन् ।