सिरहा, ३ कात्तिक । कात्तिक पूर्णिमाको दिन कमला नदीमा स्नानगरी तान्त्रिक विद्यासिद्दिका लागि हजारौं नव धामीझाँक्रीहरु कमला नदीमा घुइँचो लागेका छन् । आ–आफ्नै गाउँबाट हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै आएका वन धामिझाँक्रीहरु कात्तिक शुक्ल पूर्णिमाकादिन कमला नदिमा स्नानगरी पूजा आरधनागरे विद्यासिद्धहुने विश्वासका साथ उनीहरु यहाँ आएका हुन् ।
सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नव धाँमीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् । कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन अनुसार आज यहाँ भिड भएका हुन् ।
आजको दिन कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्नेहरुको ठूलो भिड लाग्ने गर्दछ ।
कमला नदीमा स्नानका लागि सिरहा, धनुषा, उदयपुर, सप्तरी, महोत्तरी र भारतको बिहारसम्मका मानिस आउने गरेको सिरहा मिर्चैया नगरपालिका ९, सीतापुरका ४८ वर्षीय रोहीत यादवले बताए ।
उनका अनुसार पछिल्ला दिनहरुमा झन कात्तिक पूर्णिमाका दिन नुहाउन र सिद्दिप्राप्तका लागि आउनेहरुको घुइँचो लाग्ने गरेको छ ।