सिरहा, ३० कात्तिक । सिरहाको गोलबजारमा सम्पन्न चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ मा आयोजक सृजना सेकेन्ड्री स्कूल तेक्वान्दो डोजाङ्ग प्रथम भएका छन् । स्कूल प्राङ्गनमा १२ स्वर्ण पदकका लागि सम्पन्न खेलमा ६ वटा स्वर्ण पदक हातपार्दै आयोजक प्रथम भएको हो ।
प्रतियोगितामा सुनगाभा स्कूल डोजाङ्ग धनगढी ३ स्वर्ण हातपार्दै दोस्रो, जिरोमाईल डोजाङ्ग २ स्वर्ण हातपार्दै तेस्रो र एक स्वर्ण सहित गोलबजार डोजाङ्ग चौथो भएको आयोजकले जनाएको छ ।
महिला तर्फ वेष्ट फाईटर आयोजकका सिद्दि अग्रवाल र पुरुष तर्फ सुगाभा डोजाङ्गका दिनेश यादव भएका छन् ।
विजेताहरुलाई गोलबजार नगरपालिका वार्ड नम्वर ३ र ६ का वडाअध्यक्षहरु धनप्रसाद लामा, वसन्त लामा र मुक्ति नेपालका कार्यकारी निर्देशक श्यामकुमारी साहले ट्रफि र सम्मान पत्र प्रदान गरेका थिए ।
सोही क्रममा उनीहरुले खेलले युवाहरुलाई सशक्त, अनुशासित र क्षमताबान बनाउने बताए । उनीहरुले खेलामा तराइका महिलाहरुलाई अझै बढि आकर्षित गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा १९ महिला र ५८ पुरुष सहित ७७ खेलाडीको सहभागीता रहेको आयोजक सृजना स्कूल, गोलबजारका डोजाङ्ग प्रमुख संगम लामाले जानकारी दिए । प्रतियोगितामा ३२ देखि ५२ केजीसमूहका महिला र ३४ देखि ६२ केजी समूहका पुरुष खेलाडीहरुको सहभागीता रहेको थियो ।
गोलबजार नगरपालिका वर्ड नम्वर ६ को प्रायोजन र मुक्ति नेपाल, गोलबजार लगायतको सहप्रायोजन गरेको थियो ।