चितवन, २७ कात्तिक ।  पूर्वी चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल लागूऔषध चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो  

चेवनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेस बरामद गरेको हो । 

रत्ननगर–१५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेस भेटिएको हो । गोदाममा चरेस रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । 

यद्यपि प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन । अवैध लागूऔषध चरेसको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।