प्रतियोगितामा पब्लिकेसन पार्टनरका रूपमा रहने गरी आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र ओसन पब्लिकेसनका प्रबन्ध निर्देशक लेखनाथ घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शैक्षिक तथा विद्यालय स्तरको खेललाई समेत थप गुणस्तरीय बनाउने अभियानमा सहकार्य गरेको भन्दै अध्यक्ष शाहीले ओसन पब्लिकेसनलाई धन्यवाद ज्ञापन गरे ।
प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।