महोत्तरी, १५ कात्तिक । माओवादी केन्द्र निकट पत्रकारलाई अहिले जिल्ला अधिवेशनको चटारो छ । केन्द्रको परिपत्र अनुसार सकेसम्म तिहार अगाडि नै अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन अनुसार जिल्ला तहमा माओवादी निकट पत्रकारहरू नेतृत्व लिन तँछाडमछाड गरिरहेका छन् ।
महोत्तरीमा पनि अधिवेशनको मिति आजलाई निर्धारण गरिएको छ । अध्यक्षका आकांक्षीहरू दुई/तीन जना भए पनि द्वन्द्व सिर्जना नहुने गरी सर्वसम्मतबाट नेतृत्व चयन गर्ने केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिइन् । उनले भनिन्, 'सकेसम्म मिलाउने प्रयास भइरहेको छ । हामी विश्वस्त छौ कि महोत्तरीमा कुनै मतभेद नभैकन नेतृत्व चयन हुन्छ ।'
अहिले नेकपा एमाले र माओवादी एकीकरण हुनुपूर्वको प्रेस सेन्टर नै ब्युँझिएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेको पुरानो नै प्रेस चौतारी र माओवादी केन्द्रको प्रेस सेन्टर ब्युँझिएको हो ।
प्रेस सेन्टर महोत्तरीको नेतृत्वको लागी अहिले जिल्लामा क्रियाशील पत्रकारहरू विशाल बस्नेत र धनवीर महतोले उम्मेदवारी दिएका छन् । दुवै जनाले प्रेस सेन्टरलाई बलियो बनाउन भावी योजनाहरू प्रस्तुत गर्दै नेतृत्व आफूले गर्न पाउनुपर्ने अडानमा छन् ।
पेसागत हकहितको सुनिश्चितता तथा पत्रकारिताका सैद्धान्तिक पाटा र मर्यादाहरूमा कुनै आँच आउन नदिनेगरी प्रेस सेन्टरलाई मजबुत बनाउन दुवै उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।