वीरगञ्ज, ९ कात्तिक । वीरगञ्जमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलबाटको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
वीरगञ्ज महानगरपालिका १६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी करिव ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ वेलुका घाइते अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा नारायणी अस्पतालमा आज मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
उनको टाउको, नाक, मुखमा गम्भिर चोट लागेको बताइएको छ । अनुसन्धानको क्रममा सडक पार गर्दै गरेको अवस्थामा प्रदेश २–०३–०१६ प ७३८७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको पाइएको खनालले बताए । मोटरसाइकल चालक १८ वर्षीय निरज वर्णवाललाई वीरगञ्ज–१५ भिष्वास्थित घरबाट नियन्त्रणमा लिइएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।