पाँचथर, ८ कात्तिक । पाँचथरमा भएको यात्रुवाहक वस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ४ सरखण्डेमा सोमबार को १ ख ३८६५ नम्बरको यात्रुवहाक बस दुर्घटनामा घाइते मध्य एक बालक र एक महिलागरी दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो
उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।
पाँचथरको फिदिम नगरपालिका ४ शिवादोभानबाट झापाका लागि छुटेको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड) मा विहान करिब ११ः३० बजे सडकबाट झरेको थियो । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए ।