सर्लाही, ७ कात्तिक । सर्लाहीमा भएको फरक–फरक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर दुई जना र एक बालकको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ईश्वरपुर नगरपालिका १५ सुकनाहामा ट्युबेलमा पानी तान्न जडान गरिएको मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका ७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी करेन्ट लागेरै ब्रहम्पुरी गापा २ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएका प्रहरीले जनाएको छ । विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो ।
यसैबीच बागमती नगरपालिका ५ मा मोटरसाइकले साइकललाई ठक्कर दिँदा बागमती ८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।