गमक पोष्ट समाचारदाता
वीरगञ्ज, २१ असोज । पर्सा प्रहरीले वीरगञ्जमा दाहसंस्कार गर्न ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको उनको उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा संस्कार गर्न खोजेको भन्ने सूचनाको आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएका चार जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।