गाम पोष्ट समाचारदाता / सिरहा, १६ असोज । शहिद दानी थापा, पञ्चलाल थापाको स्मृतिमा सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित तेस्रो उप–मेयर राष्ट्रिय कराँते प्रतियोगितामा गोलबजार टिम प्रथम भएको छ । गोलबजार नगरपालिका ३ जमदहस्थित सरस्वती मा.वि. परिसरमा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ३ काश्यसहित गोलबजार कराँटे टिम प्रथम भएका हुन् ।
प्रतियोगितामा ४ स्वर्ण, ४ रजत सहित गण्डकी प्रदेश तोस्रो र ३ स्वर्ण, ३ रजत सहित प्रदेश नम्वर १ बाट धरान तेस्रो भएको आयोजक गोलबजारले जनाएको छ ।
प्रथम, दोस्रो र तेस्रो विजेताटिमलाई ट्रफिसहित क्रमशः ५०, २५ र १५ हजार नगद पुरस्कार हस्तान्तरण गरिएको गोलबजार नगर शिक्षा तथा खेलकुद शाखाका खेलकुद प्रशिक्षक कसम लामाले जानकारी दिए ।
प्रतियोगितामा महिला तर्फ उत्कृष्ट गोलबजारबाट ६१ केजी समूहका खुस्बु खड्का र पुरुषतर्फ विराटनगरका अरविन्द मण्डल भएका छन् ।
त्यसैगरी, महिला तर्फ गोलबसजारका प्रोसिया चौधरी र पुरुषतर्फ धरानका सन्तोष शर्मा उदियमान खेलाडी घोषित भएका छन् । उनीहरुलाई जनही ५÷५ हजार नगद, प्रमानपत्र र ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन गर्दै गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सम्पूर्ण खेलाडीहरुको भविष्यको कामना गर्दै विजयी खेलाडीहरुलाई शुभकामना दिएका थिए । उपमेयर रेशम कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।