गमक पोष्ट समाचारदाता / वीरगञ्ज, १५ असोज । वीरगञ्ज रक्सौल सीमानाकाबाट भारतीयनिजी सवारी साधनको आवागमन आजदेखि सुचारु भएको छ । वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रमका बिच सीमानाकाबाट भारतीयनिजी सवारीको आवागमन सुचारु भएको हो ।
भारतबाट प्रवेश गर्ने पहिलो सवारी चालकसहित सवारीमा सवार यात्रीहरुलाई फूलमाला लगाएर स्वागत गरिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्तले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वीरगञ्ज महानगर पालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पैदल यात्रुहरुको आवागमन यस अघि पनि जारी रहेकोमा आजदेखि निजी सवारीको पनि आवागमनहुनुले दुई देशबिचको सम्बन्धमा अझै आत्मियता हुने धारणा राखे ।
मित्र राष्ट्र भारत र नेपालबिचको रोटी–बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनुपर्ने माँग आज पूरा भएको सरावगीको भनाई छ ।
लामो समयसम्म सीमानाका बन्दहुँदा वीरगञ्ज र रक्सौल सहितका बासिन्दालाई आवत–जावतमा असहजता मेटिने सरावगीले बताए । उनले भने, ‘नेपाल भारतको सम्बन्धका कारण पनि आगामी दिनमा नाकाबन्द गर्नुभन्दापहिला संघिय सरकारले सम्बन्ध बिग्रिन नदिने विकल्पको बारेमा सोच्नुपर्छ ।’
निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी संघ पर्साले गरेको पहलको पनि मेयर सरावगीले सह्राना गरे । नाका खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिनेमा संघका अध्यक्ष पन्तले आशा व्यक्त गरे ।
अध्यक्ष पन्तका अनुसार सीमाना भएर आउने यात्रुहरुको एन्टिजेन परीक्षण गरेर आउने व्यवस्था गरिएको छ । कार्यक्रममा होटल व्यवसायीहरु, वीरगञ्जका सञ्चारकर्मीहरु, रक्सौलका सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।