कोभिड–१९ का कारण लामो समयदेखि बालबालिका विद्यालय जान पाएका थिएनन् । कतिपय स्थानमा अनलाइन कक्षाबाटै पठनपाठन चलिरहेको थियो । विद्यार्थीहरूको पढाइमा बाधा नहोस् भनेर सरकारले कक्षा १ देखि १० सम्म असारदेखि नै नयाँ शैक्षिक सत्र सुरु गरेको थियो । अहिले कोरोना भाइरसको प्रभाव कम भएको र मृत्युदर पनि घटेकाले कतिपय ठाउँमा विद्यालयहरू खुलिसकेका छन् । अवस्था हेरेर असोजबाट विद्यालय खोल्न सकिने सरकारले जनाएको छ । 

पछिल्लो लकडाउनमा घरघरमा रुघा, खोकी तथा ज्वरोका बिरामी थिए । अस्पतालहरू कोरोनाका बिरामीले भरिएका थिए । एउटै कक्षामा कम्तीमा तीन विद्यार्थी रुघाखोकीका कारण अनुपस्थित हुने गरेका थिए । आफन्त तथा चिनेजानेका सबैका घरमा कोही न कोहीलाई रुघाखोकी र ज्वरोले सताएको भेटिन्थ्यो । कोभिडसँगै मिल्ने लक्षण देखिए पनि धेरैले परीक्षण नै गरेनन् । भदौदेखि बिरामी हुने क्रममा केही कमी आयो । यही कारण कतिपय स्थानीय तहले संक्रमणको अवस्था हेरी विद्यालय खोले ।

कोभिड संक्रमण दर घटे पनि यसको जोखिम कम भएको छैन । बालबालिकाका लागि खोप आइनसके पनि विद्यालय खुल्न थालेकाले झनै सावधान हुनुपर्ने देखिन्छ । विद्यार्थीले अनिवार्य मास्क लगाउने, झोलामा अर्को मास्क पनि राख्ने गर्नुपर्छ । विद्यालयमा मास्क नफुकाल्ने, हातमा स्यानिटाइजर प्रयोग गरिरहने तथा दूरी कायम गरिरहने हो भने संक्रमण हुनबाट बच्न सकिन्छ । विद्यार्थी तथा शिक्षकका लागि विद्यालय प्रशासनले थप मास्क राख्नुपर्छ । भीडभाड हुने चमेनाघर, शौचालय, पुस्तकालय, प्रयोगशाला, योग हल तथा कक्षाहरूलाई बेलाबेलामा स्यानिटाइज गर्नुपर्छ । प्रत्येक विद्यालयको ढोकामै ज्वरो नाप्ने थर्मल गन तथा स्यानिटाइजरको व्यवस्था हुनुपर्छ । एउटा बेन्चमा बढीमा दुई विद्यार्थी मात्र राख्नुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थी संख्या धेरै भएकाले तीन जनासम्म राखेको भेटिन्छ, जुन गलत छ । कक्षामा बढीमा तीस जना राख्न सक्यो भने भीडभाड कम तथा स्वच्छ हावा सजिलै वारपार हुन्छ । तर, प्रायः विद्यालयमा यस्तो हुन्न ।

अभिभावकहरूसँग महँगो शुल्क लिएर पनि विद्यार्थीहरूको स्वास्थ्यसँग खेलबाड गर्ने काम कुनै विद्यालयले गर्नु हुँदैन । यदि कुनै विद्यार्थीलाई रुघा तथा ज्वरो आएमा विद्यालयले परीक्षण गरिहाल्नुपर्छ । विद्यार्थीहरूले पनि आफूलाई बिसन्चो भएमा शिक्षकलाई खबर गरी निको नभएसम्म घरमै आराम गर्नुपर्छ । रुघाखोकीलाई सामान्य मानेर विद्यालय जाँदा कोरोना संक्रमणसमेत भएको हुन सक्छ । यसले अरू विद्यार्थीलाई पनि खतरामा पार्न सक्छ । विद्यार्थीहरूलाई सकेसम्म अभिभावकले आफैं विद्यालय पुर्‍याउने र छुट्टी भएपछि लिन आउने गरे भने उनीहरू यताउति बरालिने, पानीपुरीतिर झुम्मिने सम्भावना कम हुन्छ । तल्लो कक्षामा पढ्ने विद्यार्थीहरू स्वास्थ्यप्रति बढी असावधान हुन सक्छन् । यस्तोमा शिक्षकले उनीहरूलाई हरपल निगरानीमा राख्नुपर्छ । नजिक गएर बस्ने, एकले अर्काको पानी–खाजा खाइदिनेजस्ता गतिविधि गर्न दिनु हुन्न । मास्क निकाल्नुपर्ने हुनाले खाजा खाने बेला उनीहरूको विशेष ख्याल राख्नुपर्छ ।

बालबालिकालाई खोप लगाउन सुरु गरेपछि, बल्ल संक्रमणको जोखिम कम हुने विज्ञहरूले बताउँदै आएका छन् । तर खोप आएको छैन, त्यसैले विद्यालय खुले पनि नानीबाबुलाई पठाउन अभिभावक डराइरहेका छन् । यो त्रास बालबालिकाले खोप लगाइसकेपछि मात्र घट्दै जानेछ । सहरमा डेरा गरी बस्ने कतिपय विद्यार्थी लकडाउनअघि गाउँ पुगे, कति त उतैबाट अनलाइन कक्षामा हाजिर भए । अझै पनि गाउँमै रहेका उनीहरू, दसैंको मुखमा विद्यालय खुल्न थालेकाले आउनुपर्ने भएको छ । यसै पनि दसैं–तिहारमा पन्ध्र दिनदेखि झन्डै एक महिना नै विद्यालय बन्द हुन्छन् । अनि सहरमा डेरा बस्ने धेरैजसो अभिभावक नानीबाबु लिएर दसैं बिदामा फेरि गाउँ नै फर्किन्छन् । यस्ता आवतजावतले कोभिडको जोखिम झनै बढाउने देखिन्छ । धेरै विद्यार्थी भएका विद्यालयमा संक्रमणको जोखिम अझै उच्च छ । संक्रमणको जोखिम कायमै रहेकाले विद्यालयहरूको अवस्था र स्वास्थ्य मापदण्ड पालना गर्न सक्ने स्थिति हेरेर मात्र खोलिनुपर्छ ।

स्थानीय सरकार यस्ता विषयमा चनाखो हुनुपर्छ । संक्रमणको उच्च जोखिम रहेका स्थानहरूमा हतारमा विद्यालय नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । अभिभावकका लागि आफ्ना सन्तान नै सब थोक हुन् । विद्यार्थीहरूको स्वास्थ्य प्राथमिकतामा पर्नुपर्छ । त्यसैले विद्यालय खोल्न हतार गर्नु हुन्न, खोलिएका विद्यालयमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्छ ।                                                                                  कान्तिपुर अनलाईनबाट ।