गमक पोष्ट समाचारदाता

लहान, १४ असोज । ‘निःशुल्क, गुणस्तरीय शिक्षा सम्भव छ’ भन्ने मुलनारा सहित सिरहाको लहान नगरपलिकामा आज एक दिने दिगो विकासका लागि स्थानिय सरकारसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका २४ का वडा अध्यक्ष कमलदेव यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) का सिरहा जिल्ला अध्यक्ष उमेश कुमार बिसुन्केले जनाएको छ ।
शिक्षाक्षेत्र देश विकासको प्रमुख मेरुदण्ड भएकोले गुणस्तरीय शिक्षाका लागि सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरु एकजुट भएर लग्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले जेड दिएका छन् ।
सामुदायिक बिद्यालयमा दक्ष जनशक्ती रहेपनी बिद्यालयले अभिभावकको विश्वास जित्न नसकेको कारण सामुदायिक बिद्यालय प्रतिको मोह जन–मानसमा कम भएको सहभागीहरुले औल्याए ।
स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकतामा राख्न सहभागिहरुले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।
बिद्यार्थी, अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्ध कायम भएमा मात्र सामुदायिक बिद्यालयको पठन पाठनमा सुधार हुने कार्यक्रममा चर्चा गरिएको थियो ।
गुणस्तरीय शिक्षाकै पहिलो आधार हो–शिक्षक र शिक्षण विधि । उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छन् । अनुभव, ज्ञान, सीप र विद्यार्थीहरूको रुचिको आधारमा अध्ययन अध्यपन गराएमा मात्र गुणस्तरीय शिक्षाको विधि पालना हुने भएकोले आउँदा दिनहरुमा सुधार गर्न पहल गर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामुहिक रुपमा प्रतिबद्धता गरेका छन् ।,
बिद्यालयको भौतिक संरचना सुधार पनि गुणस्तरीय शिक्षा अन्तर्गत पर्ने भएकोले स्थानीय सरकारको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा कार्यक्रममा जोड दिएको छ ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत शिक्षा क्षेत्रसंग सम्बन्धित दुई दर्जनभबढी सरोकारवालाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।