स्वतन्त्रताको प्रसवपीडाबाट गुज्रिँदै गरेको भारतमा साम्प्रदायिक दंगा सुरु भइसकेको थियो । ठाउँ–ठाउँमा काटमार चलिरहेको थियो । महात्मा गान्धी त्यतिखेर दिल्लीबाट निकै टाढा नोआखली क्षेत्रमा सामञ्जस्यको प्रयास गरिरहेका थिए । उनको नेतृत्वमा त्यहाँ अहिंसा र शान्तिको वातावरण बनाइँदै थियो ।

भजन र कीर्तनको असली तागत दुनियाँले त्यतिखेरै थाहा पायो । उनको टोलीमा केही स्थानीय बासिन्दा र कतिपय बेला बाउल गायकहरू भजन र कीर्तन गाउँदै हिँडिरहेका थिए । दंगापीडितहरू र सबै थोक घुमाइसकेकाहरूमाझ गान्धी भजनकै माध्यमबाट साहस र प्रेम सञ्चार गरिरहेका थिए । यसको चामत्कारिक असर देखियो । तत्कालीन शासकले समेत दंगा गर्नेहरूलाई भरथेग गरिरहेको त्यस ठाउँमा एक दिन यस्तो भयो, स्वयं गान्धी पनि दंग परे ।

नरसी मेहतारचित ‘वैष्णव जन’ गान्धीको प्रिय भजन थियो तर नोआखलीमा मुखबाट ‘रघुपति राघव’ भजन नै बढी निस्किरहेको थियो । त्यस यात्रामा गान्धीकी नातिनी मनुले एक दिन ‘रघुपति राघव राजा राम, पतित–पावन सीताराम’ भजन गाउँदै गर्दा त्यसमा ‘ईश्वर अल्लाह तेरो नाम, सबको सन्मति दे भगवान्’ पंक्ति जोडिहालिन् । यो नयाँ पंक्ति स्वयं गान्धीले पनि रुचाए । यो गान्धीको त्यतिखेरको ‘मिसन’ सँग मेल खान्थ्यो । यसको लोकप्रियता पनि गान्धीको विचारको लोकप्रियताजस्तै भयो । नोआखलीको त्यो अशान्त क्षेत्रमा परिमार्जित भजनले शक्ति दियो र हरेक कठिनाइ झेल्नमा सघाउ पुर्‍यायो । आजको युगीन चुनौतीका लागि पनि गान्धीको काम तारणहार हुन सक्छ ।

गान्धीको जीवन कुनै महासागरभन्दा कम थिएन, जहाँ कैयौं नदी आएर मिसिएको पाइन्छ । जीवनको कुनै यस्तो क्षेत्र थिएन, जहाँ उनले नजर दिएनन् वा आफ्नो दृष्टिकोण राखेनन् । हो, कुनै पनि नायक वा चिन्तकको दृष्टिकोण वा क्रिया समयसापेक्ष हुन्छ नै, तर गान्धीलाई केवल बितेका शताब्दीसम्म मात्र सीमित गरेर हेर्नु उचित हुँदैन; त्यो उनीप्रति न्याय गरिएको पनि मानिँदैन । यसो भन्नु गान्धीप्रति अतिरिक्त भावुकता पक्कै होइन । उनले सार्वजनिक जीवन स्वीकार गरेदेखि नै संघर्ष र त्यससँगै रचनात्मक गतिविधिहरू समानान्तर रूपमा चलाइरहे । विश्व राजनीतिक मञ्चमा यस्तो उदाहरण विरलै भेटिन्छ जहाँ कुनै व्यक्ति आफ्नो राजनीतिक अनुष्ठानसँगै जीवन–जगत्सँग जोडिएका तमाम सवाल र सरोकारहरूसँग आफूलाई अभिन्न राख्दै अघि बढेको होस् । यही नै गान्धी हुनुको अग्लोपन हो । उनले आफूलाई कुनै भूभाग, नस्ल, धर्मको सीमाभित्र बाँधेर राखेनन् । उनले जेजस्ता प्रयोग गरे, तिनलाई इमानदारी एवं साहसका साथ सार्वजनिक गरिरहे । सार्वजनिक जीवन बाँच्ने जोकोहीको पनि तिनको जीवनकालमै वा मृत्युपश्चात् पनि मूल्यांकन हुने नै गर्छ । गान्धीको भौतिक अनुपस्थितिको सात दशकपश्चात् पनि बडो कठोरताका साथ उनको मूल्यांकन हुने क्रम फराकिलो हुँदै गएको छ ।

हो, गान्धीले भारतको स्वतन्त्रता संघर्षलाई नव उचाइ दिए र आखिरमा उनी छँदै भारत स्वतन्त्र भयो पनि, तर यतिखेर गान्धी–दृष्टिमाथि उनकै भारतमा असहमतिको नाउँमा उनका हत्यारा नाथुराम गोड्सेको जयगान गरिँदै छ । यस प्रवृत्तिलाई त्यहाँको सत्ताको संरक्षण पनि छ । गान्धीसँग सहमत–असहमत हुनु एउटा कुरा हो, फरक मत राख्न सकिन्छ, तर त्यहाँ त गान्धीका बारेमा योजनाबद्ध रूपमा तथ्यहीन सामग्रीहरू प्रस्तुत गर्ने दुष्कर्म हुँदै छ । गान्धी वाङ्मयसँग अपरिचित एउटा हिस्साले ‘कुसूचना’ लाई नै सत्य मान्न थालेको छ । गान्धीभन्दा गोड्सेलाई प्रासंगिक मान्नेहरूको जमात बढ्दै गएको छ ।

यसका बावजुद भारतीय सत्तापतिलाई, विश्वमा जहाँ गए पनि, भारत चिनाउन फेरि गान्धी नै चाहिएको छ । गान्धीलाई अहिलेको विश्वले किन सम्झिरहेको छ, त्यसप्रति सत्तापति सायद घोत्लिन चाहँदैनन् बरु गान्धीको विराट् व्यक्तित्वलाई खण्डित गर्दै उनलाई फगत स्वच्छता अभियानी, ‘ग्रेटर कम्युनिकेटर’ वा ‘मार्केटिङ गुरु’ का रूपमा पहिचान दिन खोज्दै छन् । गान्धीको मूल्यवान् विरासतलाई ओझेलमा पार्दै उनको ब्रान्ड बनाई ‘बजार’ बनाउन र गान्धीको प्रसिद्ध सेवाग्रामलाई बजारको हिस्सा बनाउन तम्सिएका छन्, जसको भारतभित्रै आलोचना हुँदै छ । सत्य, अहिंसा, सबैका लागि समानता, सबै धर्मप्रति समान भाव, छुवाछुतको उन्मूलन, प्रकृतिप्रति मैत्रीभाव, ग्राम स्वराजजस्ता उच्च मूल्यका लागि उनले गरेको संघर्षलाई किनारा लगाउँदै केवल स्वच्छता र सञ्चार क्षमतालाई गान्धी विरासतको शेष भनेर अर्थ्याइँदै छ ।

परिस्थिति र घटनाहरूसँग जुध्दा जुन सत्यसँग साक्षात्कार होइन्छ, त्यसले परिवर्तनलाई नयाँ गति दिने गर्छ । त्यसबाट अनुभव र सत्यको नयाँ पुञ्जको निर्माण हुन्छ, जसको आलोकमा बटुवा कर्मपथमा अघि बढिरहन्छन् । यतिखेर गान्धीमाथि अनेकौं कोणबाट आक्रमण भइरहेको छ, तर प्रत्येक प्रश्न र परीक्षापछि उनी झन् चम्किलो भएर हामीसमक्ष खडा पनि भइरहेका छन् ।

एक्काइसौं शताब्दीमा युद्धप्रति आकर्षण थपिएको छ । गरिबी, भोकमरी, गैरबराबरी र पर्यावरण असन्तुलन युद्धबिना खतम हुन सक्दैन तर यो युद्ध अहिंसक हुनुपर्ने मान्यता बाक्लिएको छ । गान्धीको सबभन्दा शक्तिशाली हतियार अहिंसाको प्रासंगिकता त्यसैले स्थापित हुँदै गएको छ । चाहे मार्क्स–माओ मान्ने होऊन् वा अम्बेडकरमाथि आस्था राख्नेहरू, ती सबै समाज रूपान्तरणका लागि गान्धीगिरी गर्नतिर आकर्षित हुनु भनेको गान्धीको काम गर्ने तौरतरिकाप्रति भरोसा बढ्नु हो ।

१५ जुन २००७ मा संयुक्त राष्ट्र संघले गान्धीको जन्मदिन (२ अक्टोबर) लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने घोषणा गर्‍यो । यो प्रस्ताव सबभन्दा पहिला इरानका नोबेल पुरस्कार विजेता सिरिन इबाडीले गरेका थिए । सन् २०१९ मा गान्धीको १५० औं जन्मजयन्तीका अवसरमा संयुक्त राष्ट्र संघका महासचिवले भनेका थिए, ‘महात्माले सिकाएको बाटो नै संयुक्त राष्ट्रको मूल एजेन्डा हो, जस्तो कि विकास, शान्ति र सहयोग ।’ सर्वोदयसम्बन्धी गान्धीको विचार राष्ट्र संघको महत्त्वाकांक्षी कार्यक्रम ‘एजेन्डा–२०३०’ को प्राक्कथन हो । सर्वोदय समाजको अन्तिम व्यक्तिको सर्वोत्तम हितको कामनासँग सम्बन्धित छ—

समयको गतिसँगै कसैले पछाडि छाडिनु नपरोस् । आज दुनियाँलाई राम्रो बनाउन अहिंसाबाहेक कुनै अस्त्र–शस्त्र छैन । अहिंसाको विचारद्वारा नै सबै ठाउँमा स्वतन्त्रता, समानता र बन्धुत्व स्थापित हुन सक्छ । आधुनिक सभ्यताले युद्ध र त्यसको परिणामका कारण ठूलो मूल्य चुकाउँदै छ । मनोवैज्ञानिक स्तरमा जब कुनै व्यक्तिले हिंसामाथि भरोसा गर्न थाल्छ, तब उसले सबै ठाउँमा हिंसाको प्रयोग गर्न थाल्छ ।

गान्धीको जीवनकालमा एक दिन धरतीको जीवनदायिनी क्षमता पनि खतरामा पर्न सक्ला भनेर सायदै कसैले सोचेको थियो । तर एक्काइसौं शताब्दीको आरम्भिक दशकमै यो स्थिति विश्वको सबभन्दा गम्भीर चुनौतीका रूपमा सामुन्ने आयो । प्रकृतिमाथि जस्तो संकट देखा परिरहेको छ, यसबाट गान्धीका कामहरूको प्रासंगिकता अझै थपिएको छ । त्यसैले भन्न थालिएको छ— बीसौं शताब्दीमा गान्धीको खाँचो थियो तर एक्काइसौं शताब्दीमा उनी अपरिहार्य नै छन् । प्रकृतिको चरम दोहन र युद्धका संसाधनहरूको बन्दोबस्तीले गर्दा धरतीको जीवनदायिनी क्षमतामा ह्रास आएको छ । यसलाई जोगाउनु एक्काइसौं शताब्दीको अपरिहार्य कार्यभार हो । सबैको खाँचो पूरा गर्ने अर्थव्यवस्था, पर्यावरणको रक्षा र शान्तिप्राप्ति — यी तीनै विषय अन्तरसम्बन्धित छन् । गान्धीको सोच र काममा यो समग्रता भेटिन्छ । तर अहिले कुनै पनि मुलुकको शासक गान्धी–गोरेटो समाउनबाट हच्किन्छ । आज गान्धी–पूजाभन्दा गान्धीका काम गर्नु समयको हाँक हो ।

मार्क्सवादीहरू साम्राज्यवाद, कुनै पनि प्रकारको औपनिवेशीकरणबाट मुक्ति चाहन्छन् । गान्धी आफ्नो दृष्टि, आस्था र सिद्धान्तबाट मार्गदर्शित भएर यसको समाधान खोज्छन् । सर्त, त्यसको माध्यम केवल अहिंसा हुनुपर्छ । गान्धीलाई देवताको श्रेणीमा राखेर कहीँ पनि पुगिँदैन, कुनै पनि चुनौती टार्न सकिँदैन । एक थरी केवल गान्धीको देखावटी आरती गर्छन्, अर्का थरी उनमा केवल समस्या देख्छन् । मूल प्रश्न हो— उनी कति समयसापेक्ष छन् वा वर्तमानमा भविष्यको केकति प्रतिनिधित्व गर्छन् ? यस कोणबाट गान्धीसँग जोडिन कुनै छेकबार छैन ।

गान्धी जीवनपर्यन्त प्रयोगधर्मी रहे । उनमा अविरलता थियो । आफैंमाथि प्रयोग गर्नु गान्धी जीवनको सशक्त पक्ष हो । स्वयंको आविष्कार र पुनराविष्कारको प्रक्रिया निकै जटिल एवं चुनौतीपूर्ण हुन्छ । यस प्रक्रियाबाट गुज्रिनु हतपती सम्भव हुँदैन । यसो गर्न खोज्नेले आफूलाई यथास्थितिवादबाट मुक्त राख्न सक्नुपर्छ । यस्तो प्रयोगकर्ताले आफूमा अतीत, वर्तमान र आगतको संगम पहिल्याउनुपर्छ । गान्धीका कामहरू केवल तत्कालीन महत्त्व र आवश्यकताका थिएनन् । गान्धी स्वयंले पनि आफ्नो कुनै अनुभव वा सत्यलाई अन्तिम मानेनन् । प्रत्येक चुनौतीले नयाँ सत्यको सृजना गर्छ भन्ने उनको ठम्याइ थियो । त्यसैले गान्धीलाई सतही ढंगले खारेज गर्नु अवैज्ञानिक हुनेछ, त्यस्तो दृष्टि पूर्वाग्रही मानिनेछ । गान्धीको व्यक्तित्वलाई विखण्डनमा होइन, सम्पूर्णतामा हेरिनु आवश्यक छ । सबै प्रकारको अन्तरविरोधको समाप्ति आफैंमा युटोपिया हो तर अहिंसा र संवादको बाटो युटोपिया होइन ।

यो शताब्दी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को हो । उसो त बितेकै शताब्दीमा अटोमेसनको युग सुरु भैसकेको थियो तर एआईले ज्ञान, सूचना, श्रम, पुँजी र भविष्यका सबै सन्दर्भलाई बदल्न थालेको छ । अब त एआईमा संवेदनशीलता उत्पन्न गर्ने कोसिससमेत हुँदै छ । यसको विकासले आफैंमा मानव अस्तित्वमाथि ठूलो प्रश्न लिएर आउँदै छ । मानिसद्वारा निर्मित तन्त्रले आफ्नो मूल निर्मातालाई अपदस्थ गर्ने खतरा छ । गान्धीले आफ्नो पुस्तक ‘हिन्द स्वराज’ मा यसको संकेत गरेका छन् । उनले त्यसमा लेखेझैं— मान्छेको अस्तित्व संकटमा पारेर प्राप्त हुने विकासको उपादेयता कसरी सिद्ध गर्ने ?

                                                                      कन्तिपुर अनलाईनबाट ।