फाईल फोटो ।

गमक पोष्ट समाचारदाता

जनकपुर, १३ असोज । प्रदेश सरकारलाई बदनाम गराउने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् ।
बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको वर्दिवास कार्यालयले छापामार शैलिमा मुख्यमन्त्रीको कार्यलय आएको भन्दै कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भएको साइकल खरिदमा करोडौँ अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले आजै विहान मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । सो क्रममा अख्तियारले केही फाइलहरु नियन्त्रणमा समेत लिएको जनाएको छ ।
मुख्यमन्त्री राउतले उनले साइकल खरिद नियमसँगत ढङ्गले भएको भन्दै गर्दा कुनै अनियमितता नभएको दाबीसमेत गरे ।
उनले भने, ‘कार्यालयले खरिद ऐन अनुसारनै प्रकृया पुर्याएर खरिद गरेको हो, कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ । अर्थात कार्यालयले सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर खरिद गरेको हो ।’
उनले प्रदेश सरकार सुशासन र संघीयताको लागि आफैँ प्रतिवद्ध रहेको जिकिर गरे । प्रदेश सरकारलाई बदनाम गर्न पत्र पत्रिकामा अनियमितताबारे भ्रामक समाचार प्रकाशित भएको मुख्य मन्त्ती राउनले आरोप लगाए ।
उनले समाचार प्रकाशित भएको केही घण्टामै अख्तियारको टोली छापामार शैलीमा आएको बताए ।
‘मानौं यो प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय, जो आफैँ शुसानको लागि, सुशासन कायम गर्नको लागि प्रतिवद्ध छ, जो आफैँ शुसान कायम गर्नको लागि प्रदेश जनलोकपाल ल्याएको छ । त्यो संस्था, त्यो संस्थाको गरिमा कसरी कायम हुन सक्छ, त्यसलाई कायम गर्नको लागि आफैँ प्रतिवद्ध रहेको अवस्थामा यो तरिका, जुन आउने छापामार शैलीमा । मानौं त्यहाँका यस्ता प्रमाणहरु नष्ट गरिदै छ, लोप भइराखेको छ । त्यस शैलीमा आउँछन् र यहाँ आएर चाहीँ आफ्नो छापामार शैलीमा आफ्नो प्रस्तुती गर्छन् ।’
उनले प्रदेश मुख्यमन्त्री कार्यालयमा छापा मारिएको बारे अख्तियार प्रमुख प्रेम राईसँग टेलिफोन गरेर गुनासो पाखेको जानकारी पनि दिए । उनले अख्तियार प्रमुख राईले समेत छापारेको शैलिप्रति दुःख व्यक्त गरेको जनाए ।